अबुधाबीमा नेपाली महिला अवसर र सम्भावनाको खोजी गर्दै

Posted on: 09 Jun, 2017


कल्पना पौडेल/जेठ २६, दुबई । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ ।

घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।

रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी छ ।

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् ।

सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि विदेशिएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन् ।

एयरपोर्टको शौचालयमा भेटिएकी उनी नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन् । किन विदेशिएको भनी सोध्दा उनले हाँस्दै भनिन्, ‘दुबई आई ब्युटिपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि दोस्रो पटक अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।’

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर ६ वर्षअघि दुबई छिरेकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने बताउँछिन् ।

‘बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्नँ,’ उनले भनिन् ।

हालैको भ्रमणका क्रममा भेटिएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भएपनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी थिइन् ।

‘आराम गरे तलब आउँदैन घर फर्कौ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैप¥यो । धन्य यहाँ भित्र अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्,’ ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन् ।

अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै ३०० को हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नु है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताए । उनले भने, ‘एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ, यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यो भन्दा बढी छन् ।’

यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन् । कोही नेपाली जस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए ।

दुबईमा रोजगारीका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ ।

कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेक नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्छिन् । को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उनीसँग छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनको परिवार दार्जिलिङमा छ । ‘पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ । धेरै ठूलो आकाङ्क्षा पनि केही छैन । दुई वर्ष भयो आएको । जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने सोचेर यसैमा आनन्दित छु,’ उनले भनिन्, ‘कसैको रहर त घर छोड्ने हुन्न । परदेशमा सबै नेपाली आफ्नै लाग्छन् । कामले यति फुर्सद हुन्न तर मिलेसम्म म हरेक सहयोग गर्ने कोसिस गर्छु ।’

यहाँ कति दिदीबहिनी पहिलोपल्ट आउँदा अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा पनि खुसी मिल्ने उनको भनाइ छ । देशमा रोजगारी नहुँदा विदेशिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे ।

कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताइन् । ‘हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर हामीलाई यहाँ सजिलो छ,’ नेत्राले भनिन् ।

एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!