नेपाल एयरलाइन्सले कतारको उडान भर्न इरानबाट एयरस्पेश लियो

Posted on: 14 Jun, 2017


जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपाल एयरलाइन्सले इरानबाट एयरस्पेश लिएर कतारको दोहामा आफ्नो उडान सुचारु गर्ने भएको छ । 

खाडी राष्ट्रहरुले एक्ल्याएपछि नेपाल एयरलाइन्सलाई कतार जाने एयर रुटमा समस्या परेको थियो । त्यसैकारण नेपालले इरानबाट ‘फ्लाइओभर पर्मिसन’ लिएको थियो । 

तर, त्यसको दुई दिनपछि नै नेपाल एयरलाइन्सले आफ्नो पुरानो भुक्तानी नदिएको भन्दै इरानको फ्लाइओभर पर्मिसन रोकेको थियो । यसअघि साउदी हुँदै नेपाल एयरलाइन्स कतारमा प्रवेश गर्दथ्यो । तर, आफ्नो आकाशबाट पनि कतार जान विमान कम्पनीहरुलाई साउदीसहितका राष्ट्रले रोकेपछि नेपालले इरानबाट फ्लाइओभर अनुमति लिएको थियो ।

नेपाल एयरलाइन्सले यसअघि इरानको बाटो हुँदै गर्ने उडानको ११ हजार २ युरो तिर्न बाँकी रहेको देखिएपछि इरानले २४ घण्टासम्म फ्लाइओभर पर्मिसन दिएको थियो । नेपाल एयरलाइन्सले आफ्नो दायित्व भुक्तानी गरेपछि सोमबारबाटै नेपाल एयरलाइन्सले कतारको दोहामा उडान भर्न सुरु गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा हप्तामा ३ वटा उडान गर्ने गरेको छ । कतारमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्सले कम भाडादरमा सुविधा दिइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!