वैदेशिक रोजगार व्यवसायीका अध्यक्षमा ढकालको उम्मेदवारी

Posted on: 24 Jun, 2017


असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । 

शुक्रबार आयोजित उम्मेदवार घोषणासभामा ‘विमल ढकाल संयुक्त व्यवसायी समूह’का उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । सो समूहबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाललाई उम्मेदवार बनाएको छ । 

ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज, वैदेशिक रोजगार ललितपुर समाज, तामाङ समाजलगायत सङ्घसंस्थाको सहयोग छ । 

यसअघि नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजले तालमेल गरेर रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’को घोषणा गरिसकेका छन् । 

वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५ औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!