विदेश पठाउने भन्दै ५७ लाख ठगेर भागेका दलालले झण्डै एक करोड तिर्नुपर्ने

Posted on: 18 Aug, 2017

भदौ २, काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिन्छु भन्दै १५ जनाबाट ५७ लाख ११ हजार रुपैयाँ ठगेर भागेका दलाल पक्राउ परेका छन् । 

ललितपुर महानगरपालिका १० का सतिशमान न्याछयोलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्राउ गरेको हो । सतिशमानलाई वैदेशिक रोजगार न्याधिकरणले २०७१ सालको असोज ७ गते २ वर्ष जेल र २ लाख रुपैयाँ जरीवानाको फैसला गरेको थियो । तर उनी फरार भएका थिए । 

मासिक ६ सय अमेरिकी डलर तलव पाउनेभन्दै १५ जना युवालाई मोरिसस, अफगानिस्तान, तान्जानिया, इराक र दक्षिण अफ्रिका जस्ता देशमा पठाउँछु भन्दै ठगेका थिए । 

सतिशमानले अवैधरुपमा एसिई कन्सलटेन्सि एण्ड रिसर्च सेन्टर सञ्चालन गरेर ठगी गर्दै आएका थिए । ५७ लाख ११ हजार रुपैयाँ ठगेका सतिशमानले हर्जना सहित ८५ लाख ६६ हजार ५ सय रुपैयाँ पीडितलाई तिर्नुपर्ने न्याधिकरणले फैसला गरेको छ । 

सिआइबीले सतिशमानलाई पक्रेर बिहिबार जिल्ला अदालत ललितपुरमा बुझाएको थियो । जिल्ला अदालतले कैद भुक्तानका लागि नक्खु कारागारमा पठाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!