अब बैदेसिक रोजगारीमा गएको व्यक्तिले मेडिकल फेल भएमा यस्तो सुबिधा पाउने

Posted on: 19 Aug, 2017

भदौ ३, काठमाडौँ | बैदेशिक रोजगारीको संसोधित नियम अनुसार अब स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको कामदार स्वास्थ्यको कारणबाट अयोग्य भई स्वदेश फर्कनु परेमा नियम बमोजिमका कागजातहरु सहित वैदेशिक रोजगारमा जाँदा र आउँदा लागेको खर्च फिर्ता पाउनेछ ।

त्यसरी फिर्ता लिनको लागि स्वदेश फिर्ता भएको मितिले ३५ दिन भित्र मन्त्रालयमा (बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत) निवेदन दिनु पर्नेछ । गन्तव्य देशमा गरेको स्वास्थ्य परीक्षण नेपालमा सूचिकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेको ९० दिनभित्र गराएको हुनुपर्नेछ ।  

नियम बमोजिम परेको निवेदन जाँचबुझ गर्दा कुनै स्वास्थ्य संस्थाले गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको ठहरेमा विशेषज्ञ समितिले सो व्यहोराको सिफारिस मन्त्रालयमा पठाउने छ । प्राप्त सिफारिस अनुसार मन्त्रालयले सम्वन्धित कामदारको वैदेशिक रोजगारमा जाँदा र फिर्ता आँउदा लागेको खर्च १५ दिन भित्र उपलब्ध गराउन सम्वन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिनेछ ।

जाँदा र आउँदाको खर्च भन्नाले स्वास्थ्य परीक्षण शुल्क, भिसा शुल्क, विदेश जाँदा र विदेशबाट फर्किंदाको हवाइ टिकट वापतको रकम, निःशुल्क भिसा र टिकट लागुभएको मुलुकको हकमा नेपाल सरकारले तोकेको सेवा शुल्क र निःशुल्क भिसा र टिकट लागू नभएको मुलुकको हकमा नेपाल सरकारले तोके बमोजिमको हदसम्म कामदारले तिरेको रकम हो ।

मन्त्रालयबाट लेखी आएमा स्वास्थ्य संस्थाले १५ दिन भित्र त्यस्तो खर्च रकम उपलब्ध गराउनुपर्छ । यदि उपलब्ध नगराएमा कामदारले पूनः मन्त्रालयमा निवेदन दिन सक्नेछन् । निवेदन जाँचबुझ गर्दा मनासिव देखिएमा मन्त्रालयले सो स्वास्थ्य संस्थाले जम्मा गरेको धरौटीबाट वैदेशिक रोजगारमा गएको कामदारलाई त्यस्तो खर्च भराइदिन बैदेशिक रोजगार विभागमा निर्देशन दिनेछ । यसरी खर्च भराइदिन विभागमा लेखी आएमा विभागले सम्वन्धीत स्वास्थ्य संस्थाको धरौटीबाट पीडितलाई रकम उपलब्ध गराउनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!