साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

Posted on: 03 Sep, 2017

भदौ १८, कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ । 

साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । 

घटना भएको अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी उनकी श्रीमती सुबास्ना अर्कोदिन अकस्मात् श्रीमान्को निधन भएको खबरले अचेत छिन् । 

धन कमाउन भनी विदेश गएका छोराको मृत्युको खबर सुनेपछि यतिबेला परिवार शोकमा डुबेको छ । काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाई त्यहाँ इलेक्ट्रिक कम्पनीमा काम गर्दै आएका थिए । 

आठ वर्षअघि प्रेम विवाह गरेका उनका चार वर्षका छोरा र दुई वर्षकी छोरी छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!