३७ कामदारको उजुरीपछि बन्द भयो म्यानपावर ! यस्तो छ कारण

Posted on: 17 Sep, 2017

असोज १, काठमाडौं । ३७ जना कामदारले बढी रकम लिएको उजुरी दिएपछि जव्स लिंक इन्टरनेशनल प्रालि १० दिनदेखि बन्द भएको छ ।

आफूहरुलाई वैदेशिक रोजगारीमा पठाउँदा म्यानपवारले एक लाख २० हजारका दरले रकम लिएको भन्दै पीडितले श्रम तथा रोजगार मन्त्रालयमा उजुरी गरेपछि विभागले म्यानपावरको कारोबार बन्द गराएको हो ।

मन्त्रालयले वैदेशिक रोजगार विभागलाई तत्काल कारबाही गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन पछि जव्स लिंक इन्टरनेशनल प्रालिको कारोबार बन्द गरिएको छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार अहिले म्यानपावर कम्पनीमाथि छानविन भैहरहेको छ ।

उजुरी पर्नासाथ विभागले १० दिन पहिले यो म्यानपवारमा छापा मारेर कागजात समेत नियन्त्रणमा लिएको छ । उजुरी गर्ने पीडितका र आफन्त सम्पर्कमा नआउँदा छानविन गर्न समस्या भएको विभागले जनाएको छ । निर्देशक अधिकारीले पीडितका आफन्त लामो समयसम्म सम्पर्कमा नआउँदा पीडितमाथि समेत संका गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यदि पीडित भएकै हो भने हाम्रो सम्पर्कमा पनि आउनु पर्‍यो नि’ अधिकारीले भन्नुभयो, ‘म्यानपवार बन्द छ के हो सत्य तथ्य पत्ता लगाउँछौं तर गलत मनसायले उजुरी गरिएको हो भने त्यसको पछि लाग्दैनौं ।’

म्यानपावर सञ्चालक बालकुमार बुढाथोकीले आफ्नो म्यानपावर कम्पनीबाट गएका कोहि पनि कामदारले गुनासो नगरेको बताउँदै एकसाथ मन्त्रालयमा उजुरी परेपछि थाहा पाएको बताउनुभयो । सञ्चालक बुढाथोकीले भन्नुभयो ‘छानविन हुँदैछ, सत्य पत्ता लाग्ला तर उजुरी गलत छ भन्ने मेरो बुझाई हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!