युरोप भनेर नझुक्किनुस ! साइप्रसमा यस्तो छ रोजगारीमा जाने नेपालीको हालत

Posted on: 18 Sep, 2017

असोज २, काठमाडौं | बिभिन्न म्यानपावरले साइप्रसमा बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ । 

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि नि:शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख भन्दा बढी लिने गरिएको पनि भेटिएको छ । 

डिमाण्डमा एजेन्ट 

नेपालबाट साइप्रस पठाउदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड झार्न निकै गाह्रो छ । त्यहाँको एजेन्टहरुलाई प्रति कामदार १ लाख भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइन्छ । त्यसैले अनि बिभिन्न प्रोसेस गर्दा साइप्रस जान लागत बढ्ने गरेको छ । अर्को मुख्य कुरा के पनि छ भने साइप्रस जाने कामदारले उताको दलालाई कमिसन रकम समेत बोकेर जानुपर्ने हुन्छ । 

साइप्रसको नियामानुसार घरेलु कामदारले एउटा स्पोन्सर मन नपर्दा तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा छ । यस्तो सुबिधा त छ तर स्पोन्सर भेटिन निकै समस्या हुन्छ । नयाँ कामको खोजीमा नै समय व्यतित हुने गरेको छ भने पाए पनि फेरी एजेन्टलाई नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ । 

म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या नै भने जस्तो काम नपाउनु हो । यहाँबाट म्यानपावरहरुले बिभिन्न मिठा सर्त र कामको आश्वासन देखाउने गरेको भएतापनि त्यहाँ समस्यामा पर्ने गरेको धेरै नेपालीको गुनाशो छ । कतिपय घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपालीले मालिकले सारीरिक यातना समेत दिने गरेको गुनाशो गरेका छन् । सारीरिक यातना मात्र नभई तलब समेत नदिने अर्को समस्या छ । 

 ७०% भन्दा बढी समस्यामा 

घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै म्यानपावरहरु भन्ने गरेका छन् तर त्यहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो समय साइप्रस गएका मध्ये ९०% को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या ७०% भन्दा बढी छ । 

नेपाली कामदारलाई साइप्रसमा समस्या परेको हालसालै मात्र हैन ।  यो समस्या सुरुवातदेखिकै हो ।  अघिल्लो बर्ष धेरै संचार माध्यममा यस बिषयमा समाचारहरु आएको भएता पनि सम्बन्धित निकायले त्यति चासो देखाएको छैन ।  नेपालदेखि साइप्रससम्म दलालहरुको सेटिङ हुने र त्यसमा पनि केहि सम्बन्धित निकायका कर्मचारीले समेत आर्थिक फाइदा पाउने हुनाले समस्या समाधानको प्रयास नभएको स्पष्ट छ । समस्या पर्न सक्ने बिभिन्न मिडियाले समाचार प्रसारण गर्दा समेत नेपाली कामदारहरु म्यानपावरकै आश्वासनमा लोभिदै साइप्रस पुग्ने गरेका छन् र समस्यामा पर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!