नेपाल र जोर्डनबीच श्रम सम्झौता, न्युनतम तलब पनि तोकियो

Posted on: 18 Oct, 2017

कात्तिक १, काठमाडौं । श्रम सम्झौताको इतिहाँसमा दोस्रो श्रम सम्झौताको रुपमा आज नेपाल र जोर्डनबीच द्विपक्षीय श्रम सम्झौताको भएको छ । सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा विशेष समारोहकाबीच हस्ताक्षर गरेका हुन् ।

१२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हो । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । 

जोर्डनसँगको सम्झौता अनुसार अब नेपालबाट जोर्डन जाने कामदारको न्युनतम तलब २५० डलर तोकिएको छ भने घरेलु कामदारको लागि ३ सय डलर तोकिएको छ । यस अघि न्युनतम तलब बिनानै सम्झौता गर्न लागिएको भन्दै श्रम सम्झौता गर्नुको औचित्य नरहेको बताइएको थियो ।

इजरायलसँग बोर्डर जोडिएको देश जोर्डनले नेपालीहरुलाई गार्मेन्ट उद्योगमा अफर गर्दै आएको छ । त्यसको साथै बिभिन्न पेसाको कामदारको रुपमा पनि डिमाण्डहरु आउने गरेका छन् तर तलब भने अन्य खांडी मुलुकको तुलनामा कम हुँदा त्यति आकर्षण गन्तब्य मानिएको थिएन । श्रम सम्झौतापछि अब भने त्यहाँ साधारण कामका लागि पुग्ने नेपाली कामदारले कम्तिमा २५० डलर कमाउन सक्नेछन् । 

जोर्डनमा अहिले ५ हजारभन्दा बढी नेपाली कामदार रहेका छन् । जोर्डनको लागि छुट्टै दुतावास भने छैन । जोर्डनसँग सिमाना जोडिएको देश इजरायलले यो देशको कुटनीतिक समन्वयको काम गर्दछ ।

जोर्डनसँग भएको श्रम सम्झौतामा अब नेपाली कामदारले जोर्डन जाँदा फ्री भिषा तथा फ्री टिकटकै नीति लागु हुनेछ । यसको मतलब कामदारको आते-जाते टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै कामदारले करार अवधिभर २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा पाउनेछन् ।

नेपालीको मुख्य गन्तब्य देशहरु मलेसिया, युएई, साउदी अरेविया, लेवनान, कुवेत, बहराइन लगायत अन्य देशसँग श्रम सम्झौता हुन नसकीरहेको अवस्थामा दोश्रो पटक भएको जोर्डनसँगको सम्झौतालाई सकारात्मक रुपमा हेरिएको छ । सरकारले जोर्डनसँग सम्झौता गरेसंगै फ्री भिषा-फ्री टिकटको ब्यबस्था,मा पनि सुधार आउने बताइएको छ । 

नेपालीको प्रमुख गन्तब्य मानिने देशहरुमा श्रम सम्झौता नहुँदा त्यस्तादेशमा पुगेका नेपाली कामदारहरुले बिभिन्न समस्या भोग्नुपर्ने हुन्छ । नीतिगत रुपमा सम्झौता हुँदा एकार्काप्रति कम्पनी तथा देशनै जिम्मेवार बन्ने हुँदा श्रमसम्झौतालाई महत्वपूर्ण मानिन्छ । नेपालको सन्दर्भमा अहिले एक सय १० मुलुक वैदेशिक रोजगारीका लागि खुला गरिएका छन् । जस मध्ये अहिलेसम्म जम्मा २ वटा मात्र सम्झौता हुनु निकै लज्ज्स्पद कुरा हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!