वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत घटे, यस्तो छ कारण

Posted on: 31 Dec, 2017

पुस १६, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ । मंसिरमा ५२ हजार सात सय ८३ जना रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार कात्तिकको तुलनामा यो संख्या करिब आठ हजार कम हो। 

विभागका प्रवक्ता मोहन अधिकारीले कात्तिकमा रोजगारीका लागि श्रम स्वीकृति लिँदै विदेश जानेको संख्या ६० हजार पाँच सय ७३ रहेको जानकारी दिए। निर्वाचनसँगै विदेशबाट कामदारको मागमा कमी आउँदा पनि रोजगारीमा जानेको संख्या क्रमशः घटेको उनको भनाइ छ।

उनका अनुसार मंसिरमा २४ सय २३ जना महिला कामका लागि विदेसिएका छन् । कात्तिकको तुलनामा मंसिरमा वैदेशिक रोजगारीका जाने महिलाको संख्यामा आठ सयभन्दा बढीले कमी आएको छ। कात्तिक महिनामा रोजगारीका लागि विदेश जानको महिलाको संख्या ३२ सय ८२ जना थियो । -आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!