मलेसिया सरकारले गर्यो कामदारका लागि यस्तो निर्णय, नेपालीलाई पनि राहत

Posted on: 17 Jan, 2018

 माघ ३, काठमाडौं । मलेसिया सरकारले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थप गरेको छ । 

मलेसियामा अवैधानिक रूपमा बसोबास गरिरहेका कामदारहरूलाई घरफिर्तीका लागि मलेसियाले छ महिना समय थप गरेको हो । त्यसरी फर्कनको लागि यसअघि २०१७ डिसेम्बरको ३१ सम्मको समय दिइएको थियो । 

मलेसिया सरकारले उक्त समयलाई बढाएर आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म पुर्याएको क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचिव प्रेमराज गौतमले  जानकारी दिए । उक्त अवधिसम्म पुनः वैधानीक हुन तथा स्वेच्छिक घरफिर्ती कार्यक्रममा सहभागी हुन दूतावासले आग्रह गरेको हो ।

करिब १ लाख नेपाली कामदार हाल मलेसियामा अवैधानीक रूपमा रहेको हुन सक्ने दूतावासको अनुमान रहेको छ । द्वितीय सचिव गौतमका अनुसार सन् २०१७ मा १५ हजार ८ सय ५५ जना नेपाल घरफिर्ती कार्यक्रममा सहभागी भएका छन् । उनीहरूले एकतर्फी यात्रा अनुमतिपत्र लिइसकेको उनले बताए । 

अवैधानिक कामदारलाई स्वेच्छिक घरफिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । बुक्क्ती मेघा, फारफेस रिसोर्स, इन्टरनेशनल माकेर्टिङ एण्ड नेट (आइएमएएन) रिसोर्स, केरिकम, पिएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन जेर्निही, प्रोफाउण्ड राडियन्स् र दुक्क्ति महलिगाईबाट सहयोग लिई अवैधानिक कामदारले स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरको छ ।

त्यस्तै सन् २०१८ देखि कामदारको लेबी नकाटिने मलेसिया सरकारको घोषणा कार्यान्वयमा आउने दूतावासले जनाएको छ । दूतावासका श्रम सहचारी बाबुलाल रेग्मीले यसअघि मलेसिया सरकारले कामदारको लेबी काट्न नपाउने निर्णय गर्दा रोजगारदाता कम्पनीहरूबाट निकै विरोध तथा आन्दोलनहरू गरिएको भएतापनि अहिले त्यसो नभएकाले उक्त व्यवस्था कार्यान्वयमा आउनेमा आफूहरू विश्वस्त रहेको रेग्मीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!