ठगीका उजुरी परेका म्यानपावर सशंकित, श्रममन्त्रीले कारवाही भईसकेको फाइल समेत मागे

Posted on: 19 Mar, 2018

मनोज/अनिल | चैत ५, काठमाडौँ | नयाँ सरकारमा नयाँ मन्त्रीहरुको सुरुवातबाटै कडा निर्देशन सहित कामहरु सुरु हुन थालेका छन् । बिहिबार मात्र श्रम मन्त्री बनेका श्रममन्त्री गोकर्ण विष्टले ठगि गर्ने म्यानपावरहरुको सुची मागेको कुरा बैदेशिक रोजगार बिभाग स्रोतले जनाएको छ । 

बिभागका एक कर्मचारीका अनुसार मन्त्रालयले यस अघि बैदेशिक रोजगार बिभागले गरिसकेको भनेको कारवाहीको समेत पुनरावलोकन हुने भएको हो । जसको कारण बिभाग भित्रै श्रममन्त्रीले धमाका मच्चाउने उनको दावी छ । उनको अनुसार मन्त्रालयले यस अघि ठगीको मुद्दा परेका भनिएका म्यानपावरलाई के-कस्तो कारवाही गरिएको छ, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही भएको छ, सोको बारेमा समेत श्रममन्त्रीले चासो देखाएका छन् । ति कर्मचारीले भने 'एकै म्यानपावरले किन पटक-पटक ठग्छन् ? उजुरी परेका म्यानपावरलाई बिभागले के-कस्तो कारवाही गर्छ ? मन्त्रीज्युले यस बिषयमा बुझ्न चाहनु भएको छ' उनले भने ।

मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची मागेको उनले बताए । श्रममन्त्री गोकर्ण विष्टले पटक-पटक म्यानवापरले पुनः ठगी गरेको र त्यस्तो हुन नदिन र आवश्यक परे कारबाही समेत गर्नको लागि ठगिको उजुरी परेका म्यानपावरको सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका हुन् । 

मन्त्रालयले ठगीको उजुरी परेका म्यानपावर र त्यस्तालाई यसअघि कस्तो कारवाही गरिएको छ हेरेपछि थप निर्णय लिने बताइएको छ । 

२०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी

सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको हो ।

विभागको रेकर्ड अनुसार एकै म्यानपावर विरुद्द १० वटा सम्म उजुरी परेका छन् । म्यानपावर कम्पनीले चर्को शुल्क लिएको,पासपोर्ट संगै पैसा लिएर महिनौ दिन सम्म विदेश नपठाएको जस्ता उजुरी विभागमा पर्ने गरेका छन् । विभागमा परेका उजुरी मध्ये सबैभन्दा धेरै १० वटा उजुरी  डुल्स्को ह्युमन रिसोर्स र डाइनामिक ग्लोबल एच आरसंग सम्बन्धित रहेका छन् । जसमा १०/१० उजुरी २०१७ मा मात्र परेका छन् । जसले पटक-पटक ठगि गरेको बिभागको रेकर्डमा देख्न सकिन्छ । यस्तै अन्य म्यानपावरहरुको नाम पनि पटक-पटक ठगीको उजुरीमा जोडिएका छन् । 

त्यस्तै अल दहबिया ओभेरसीजले ठगि गरेको भन्दै ८ उजुरी परेका छन् । क्यापिटल रिक्रुटमेन्ट सर्भिस,राप्ती प्लेसमेन्ट सर्भिस,र सम्पदा ओभरसीजले ठगेको भन्दै ७/७ वटा उजुरी परेका छन् । ठगीका उजुरी मध्ये चौंथो नम्बरमा ग्रेस ओभरसीज,सुनगाभा ओभरसिज,द रिभर ओभरसिज र पाथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस परेका  यी चार म्यानपावर बिरुद्द ६/६ वटा उजुरी परेका छन् ।

यसघि पनि कामदारवाट चर्को शुल्क अशुल गर्ने सुचिमा रहेको ग्रीन स्टार ओभरसिज पाचौं नम्बरमा परेको छ । ग्रीन स्टारले ठगेको भन्दै ५ उजुरीहरु दर्ता भएका छन् । बैदेशिक रोजगारीमा सबै भन्दा धेरै कामदार लैजादै आएको एस ओ एस म्यानपावर,प्रीसाइज इन्टरनेसनल, हिमालयन म्यानपावर सर्भिससंग ५/५ उजुरी परेका छन् । 

रोयल इन्टरनेशनल ओभरसीज,याज गल्प ग्रुप प्रा लि,भेरी एण्ड कर्णाली इन्टरनेशनल, थ्री ब्रोदर ह्युमन रिसोर्सले ठगेका ४/४ उजुरी विभागमा परेका छन् । त्यस्तै गरि चाँदनी म्यानेजमेन्ट सर्भिस,न्यु ब्लु स्टार ओभरसिज,कोमल इन्टरनेशनल ओभरसिज,लक्की एच आर सोलुशन शिल्भर स्टार ओभरसिज र एशिया प्यासिफिक रिक्रुटमेन्ट सर्भिससंग सम्बन्धित ४/४ वटा उजुरी परेका छन् ।

ठगीका ३/३ वटा उजुरी परेका म्यानपावरको संख्या २७ रहेको छ भने ५२ वटा म्यानपावरले ठगेको भन्दै २/२ वटा उजुरी विभागमा दर्ता भएका छन् ।

१ सय ९५ म्यानपावरसंग सम्बन्धित १ /१ उजुरी विभागमा दर्ता भएका छन् । 

पछिल्लो एकै बर्षमा पटक-पटक ठगीको उजुरी परेका म्यानपावरहरु 


बिभागले १/२ उजुरी परेका म्यानपावर बिरुद्ध सामान्य कारवाही गर्न सक्ने भएपनि एकै बर्षमा १० पटकसम्म ठगीको उजुरी परेका म्यानपावरहरुलाई किन कठोर कदम लिन सक्दैन ? यस बिषयमा बिभागले अब श्रम मन्त्री गोकर्ण विष्टलाई गतिलो स्पष्टिकरण दिनुपर्ने हुनसक्छ ।

यो पनि पढ्नुहोस्

>> २०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी, टप-१० मा को-को परे (लिस्ट सहित हेर्नुहोस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!