विदेश उड्न लगेज बोकेर म्यानपावर पुगेका युवाहरुको बिचल्ली, बजाज ओभरसिज करोडौं उठाएर फरार !

Posted on: 20 Mar, 2018

अनिल अधिकारी / मनोज पराजुली | चैत ६, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।

माथिको तश्विरमा: कुवेतको ग्लोबल एक्सल कम्पनीको डिमाण्ड, यही डिमाण्ड देखी बजाज ओभरसिजले युवाहरुलाई ठगि गरेको हो ।

पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक फरार भएको बताएका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरि बजाज ओभरसिजका संचालक बताउने सर्लाहीका उमेश कटुवाल फरार भएका हुन् ।

कटुवाल फरार भएपछि म्यानपावर छाडेर भागेका म्यानपावरका म्यानेजर बताउने सर्लाही वरहथवाका रामेश्वर सिङलाई पिडितहरुले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरि बैदेशिक रोजगार बिभागमा आज करिव ५ बजे उपस्थित गराएको छ ।  पक्राउ परेका रामेश्वरले विदेश जाने कामदारलाई भने प्रेम नाम बताउने गरेको पिडितहरुले साझा सबाललाई बताएका छन् । 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर रामेश्वर सिङ - म्यानेजर (बायाँ), संचालक बताउने फरार उमेश कटुवाल (रातो एरोले देखाएको व्यक्ति)


माथिको तश्विरमा: ठगिमा परेका युवाहरु ।

टिकट ल्याउछु, भनेर गएका संचालक फरार 

पीडित मध्येका अनिल विश्वकर्माले लगेज शनिबारदेखि म्यानपावरको कार्यालय भित्रै थुनिएको बताए । विदेश जान शुक्रबार घरबाट बिदा मागेर आएका उनलाई म्यानपावरले ठगि गरेको कुरा त्यसबेला मात्र थाहा भयो जति बेला एयरपोर्ट पुगिसक्नु पर्ने दिन म्यानपावरमै बास बस्नुपर्यो । शुक्रबार बेलुका ७ बजे एयरपोर्टभित्र पुगिसक्नुपर्ने भनेर तयार भई म्यानपावर पुगेका उनी सहित २५ जनालाई म्यानपावरमै कुर्न लगाई टिकट ल्याउछु भन्दै गएका संचालक कटुवाल प्लेन उड्नेबेला सम्म पनि म्यानपावर नफर्कंदा ठगिएको थाहा पाए । उनले भने -'त्यस दिन मसहित २५ जनालाई उडाउने भन्दै घरबाट बोलाइएको थियो । तर टिकट लिन भनेर गएका संचालक नौ बज्दासम्म फर्किएनन् ।' उनले आफु सहित झन्डै तीन सय जनालाई उक्त म्यानपावरले ठगि गरेको दावी गरे ।

माथिको तश्विरमा: पीडितहरुसँग ठगले अशुली गरेको पैसाको भरपाई तथा फिर्ता दिईएको ब्ल्यांक चेक ।

त्यस्तै अर्का पीडित बिशाल सुनुवारले ठगिएको भन्ने थाहा पाएपछी सबैतिर बुझ्दा म्यानपावरले सबै काम नक्कली गरेको भन्ने थाहा पाएको बताए । उनले भने - 'म्यानपावर छ, बोर्ड टागेर कार्यालय चलाएको छ, हामीले विश्वास नगर्ने कुरै भएन, तर अहिले आएर सपना जस्तो लाग्दैछ । उसले म सहित ३ सय जनालाई ६ महिनादेखि पटक-पटक पैसा अशुली गर्दै ठगेको पो रहेछ ।'

यस बिषयमा पडितहरुले आज बैदेशिक रोजगार बिभागमै उपस्थित भई आफ्नो समस्या पोखेका छन् । झन्डै ५० जनाको संख्यामा बिभाग पुगेका पिडितहरुले आफु ठगिएको भन्दै बिभाग समक्ष न्याय मागेका हुन् । पिडितहरु मध्ये एक जनाले आक्रोशित हुँदै आफुहरुलाई ठग्ने म्यानपावरको बारे यस अघि बैदेशिक रोजगार बिभागमा उजुरी गर्दा बिभागले ठगको तीन पुस्ते ल्याउन आग्रह गरेको आरोप लगाए । उनले भने 'बकाइदा बोर्ड राखेर चलेको म्यानपावर सहि हो वा गलत हामीलाई के थाहा ? डिमाण्डदेखि श्रम गर्दा समेत सबै कुरा सहि हो जस्तै लाग्यो तर अहिले ठगिएपछी सबै कुरा हेर्दा त नक्कली पो रहेछ ।' 

माथिको तश्विरमा: नक्कली श्रमस्वीकृति । 

पीडितहरुले दिएको जानकारीको आधारमा साझा सबालले म्यानपावरबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै डिमाण्ड ल्याउने न्यु ब्लु स्टार ओभरसिजसँग बुझ्न सम्पर्क गर्दा वेबसाइटमै रङ्ग नम्बर राखिएको पत्ता लागेको छ । घटनापछी बैदेशिक रोजगार बिभागका महानिर्देशक भुवन आचार्यले दोषीलाई बिभागमा मंगलबार ढिला उपस्थित गराइएको कारण बुधबार थप जानकारी गराउने बताए । 

श्रममन्त्री बिष्टको ध्यानाकर्षण 

यसै बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले दोषी उपर कडा कारवाही गर्ने साझा सबालसँग प्रतिबद्दता व्यक्त गरेका छन् । उनले ठगिमा मुछिने जो कोहिलाई पनि आफुले नछाड्ने भन्दै यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने - 'म यस बिषयमा भोलीनै जानकारी लिएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिन्छु ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!