यूएईको निर्णय : नेपाली कामदारका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने

Posted on: 01 Apr, 2018

चैत्र १८,काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले नेपाली कामदारबाट भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णय बमोजिम अप्रिल १ अर्थात् आजबाट युएई एम्बेसी मार्फत गरिने प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने भएको हो ।

गत बुधबारबाट नेपाली कामदारको  नै डकुमेन्ट लिन छोडेको र लिएका सबैको प्रमाणीकरण गरि कामदारलाई उपलब्ध गराइसकेको यूएई एम्बेसीले साझा सबाललाई जानकारी दिएको छ ।

यूएई सरकारको निर्णय प्रति नेपाल बैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ ।  धेरै क्षेत्रबाट युएई सरकारको निर्णय सहजीकरण गर्नुपर्छ भन्ने राय सल्लाह आउँदा आउंदै पनि संघ एक ढिक्का भएर श्रमिकलाई आर्थिक भार पर्ने कुनै पनि निर्णय लागू हुनुहुन्न भन्ने आफ्नो धारणामा अडिक रहेको कारण खारेज हुन पुगेको संघका महासचिव नरेश गेलानले साझा सबाललाई बताए । साथै यो निर्णय संधैका लागि स्थगित हुनुपर्ने उनले बताए ।

नेपाली श्रमिकहरुलाई आर्थिक भार पर्ने  युएई सरकारको निर्णय स्वीकार नगर्ने भन्दै संघले पटक पटक श्रममन्त्री लगायत युएई एम्बेसीको ध्यानाकर्षण गराएको थियो । 

यसअघि यूएईले २७ मार्च बाट लागू हुने गरी भारतसहित अन्य आठ मुलुकलाई भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको थियो ।










यस बिषयमा तपाइको प्रतिक्रिया...!