विदेश बस्ने नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने

Posted on: 24 Apr, 2018

बैशाख ११,काठमाडौं । विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ ।  विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

कसरी लिने सेवा 

विदेशमा आवश्यक पर्ने प्रहरी चारीत्रिक प्रमाणपत्र सहज रुपमा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय चालचलन शाखाको इमेल [email protected]  मार्फत आवश्यक कागजात सहित आवेदन दर्ता गरी सम्बन्धित ब्यक्तिको इमेल मार्फत नै प्रहरी चालचलनको प्रमाण–पत्र विदेशमा नै उपलब्ध गराउने गरी इमेल सेवा सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पुलिस रिपोर्टको लागि दुईवटा केन्द्र थप

प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टको फारम संकलन गर्नका लागि काठमाडौं उपत्यकामा दुईवटा केन्द्र थप गरेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अब महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त गौशालामा पनि पुलिस रिपोर्टका लागी फारम बुझाउन र रिपोर्ट लिन सकिनेछ ।

यसअघि काठमाडौं उपत्याकाका चार स्थान महानगरीय प्रहरी कार्यालय रानिपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पुलिस रिपोर्टको फारम संकलन र वितरण हुँदै आएको थियो ।

उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय नेपालगञ्ज र संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट पुलिस रिपोर्ट वितरण हुँदै आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!