बैदेशिक रोजगार व्यवसायी फोरमले भन्यो- 'सरकार एक पक्षीय, संघ असक्षम'

Posted on: 14 May, 2018

बैशाख ३१ काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको बैदेशिक रोजगार व्यवसायी भेलामा बोल्दै अधिकांश म्यानपावर व्यवसायीहरुले सरकार एक पक्षीय रुपमा अगाडी बढेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले सरकारले मागपत्र प्रमाणीकरणको काम दुतावासबाट गरिने निर्णय हतारमा गरेको भन्दै त्यसको कार्यन्वयनमा ध्यान दिन पनि आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले सरकार एकपक्षीय रुपमा अगाडी बढ्दा समेत व्यवसायी संघले सरकारसंग गम्भीर रुपमा छलफल गर्न नसकेकोमा संघको नेतृत्व प्रति आलोचना गरेका छन् ।

कार्यक्रममा बोल्दै लोकतान्त्रिक फोरमका अध्यक्ष बिष्णु गैरेले नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सरकारसंग आवश्यक छलफल गरि बैदेशिक रोजगारका समस्या समाधान गर्नतर्फ पहल कदम लिन नसकेको धारणा व्यक्त गरे । सरकारले हाल म्यानपावरको धरौटी रकम बढाउन लागेकोमा व्यवसायी संघले खासै प्रभाबकारी भूमिका नखेलेको भन्दै उनले आपत्ति जनाए । उनले व्यवसायी संघको कार्यशैली प्रति पटक पटक ध्यानाकर्षण गराउंदा समेत व्यवहारमा सुधार नआएको टिप्पणी गरे । संघले  बिना नक्सा पास संघको भवन बनाउने नाममा व्यवसायीसंग  रकम माग गरिएको भन्दै संघको कार्यशैली उचित नभएको धारणा व्यक्त गरे ।


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बिमल ढकालले हालको व्यवसायी संघले आफु अनुकुल समय हुँदा समेत सुधारका काम गर्न नसकेको भन्दै संघको कार्यशैली प्रति टिप्पणी गरे ।  विगतको चुनाबमा उठाएका विषय के कति पुरा भए जानकारी माग गर्दा समेत संघले दिन नसकेको भन्दै उनले संघको हालको नेतृत्व राजनीतिक रुपमा असक्षम, आर्थिक रुपले भ्रष्ट र व्यावसायिक रुपमा इमान्दार नरहेको भन्दै कडा आलोचना गरे । देशमा एकातिर सरकार बैदेशिक रोजगार मागपत्र दुतावासबाट अनिवार्य गर्ने, अनि अर्कोतर्फ संघका अध्यक्ष स्वयं बिदेशमा रहेका नेपाली दुतावास भ्रमण गर्नुको औचित्य के को ? व्यवसायीलाई जानकारी किन नदिएको भन्दै उनले संघको कार्यशैली प्रति प्रश्न चिन्ह उठाए ।

संघका पुर्व अध्यक्ष हंशराज वाग्लेले सरकारले यस अघि सरकारले ल्याएको फ्री भिषा र फ्री टिकट रोकेर राख्ने अनि धरौटी बढाउने तिर सरकार लाग्नु तर्कसंगत नभएको जिकिर गरे ।

लोकतान्त्रिक फोरमका सल्लाहकार समेत रहेका किरण किशोर घिमिरेले सरकार  म्यानपावरको धरौटी बढाउने र बर्गिकरण गर्ने प्रक्रियामा लागेको भन्दै सचेत रहन व्यवसायीलाई आग्रह गरे । उनले केहि म्यानपावर कम्पनी नै सिन्डिकेटको पक्षमा लागेको भन्दै व्यवसायीको पनि चरित्र परिवर्तन हुनुपर्ने तर्क गरे  ।  उनले नेपाल बैदेशिक रोजगार व्यवसायी संघलाई व्यवसायीका पक्षमा संवेदनशील रुपमा तर्क र बहस गर्न आग्रह गरे ।


फोरमका सल्लाहकार समेत रहेका व्यवसायी तिलक रानाभाटले व्यवसायी भित्र पनि कमि कमजोरी रहेको भन्दै सुधार गर्नुपर्नेमा जोड दिए ।  हाल एकै व्यवसायीको नाममा ५/७ वटा म्यानपावर संचालन गर्नुपर्नाको  कारण व्यवसायीले नै उत्तर दिनुपर्नेमा उनले जोड दिए । साथै उनले हाल सरकारले दुतावासबाट मागपत्र प्रमाणीकरण गर्ने काम ठिक भएपनि ३ महिना म्यानपावर व्यवसायीले जिम्मा लिने तर त्यसपछि कुनै समस्या आए सरकारले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा बोल्दै  बैदेशिक रोजगार प्रवद्द्न बोर्ड सदस्य सिता देवकोटाले केहि ठुला म्यानपावर व्यवसायी नै धरौटी रकम बढाएर एकलौटी तरिकाले  व्यवसाय गर्नतर्फ लागेको आरोप लगाइन् ।  उनले सरकारले धरौटी रकम बढाए हाल सानो  रकममा म्यानपावर व्यवसाय गर्नेहरु व्यवसायबाट पलाएन हुने अवस्था आउने र ठुला व्यवसायी घरानाको प्रभुत्व रहने दावी गरिन् । 

 व्यवसायी भेलामा उठेका विषय समेटेर लोकतान्त्रिक फोरमले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्ट र सरकारले बैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न गठित बिभिन्न समितिको ध्यानाकर्षण गर्ने जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!