जेठ १९, काठमाडौं । सरकारले १ अर्ब गुमेको भन्दै विदेशबाट फर्किने यात्रुहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाउने भएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी ल्याउन पाउने रक्सी अब ल्याउन नपाउने भएका हुन् । यस अघि विदेशबाट आउनेहरुले विदेशमा महँगो पर्ने रक्सि सगुनको रुपमा ल्याउने गरेका थिए ।
यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे भने अब त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।
सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गरेको छ । भन्सार कार्यालयले विदेशबाट रक्सी ल्याउने क्रम बढेको भन्दै त्यसबाट झण्डै एक अर्ब राजस्व गुमेको बताएको छ, त्यसै कारण पनि पहिलेको ब्यबस्थालाई हटाइएको हो ।
विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन । सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । अब विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा स्पष्ट भएको छ भने यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न लगाउने भन्ने विषय भने केही दिनमै थाहा हुनेछ ।
सरकारले रक्सिले स्वास्थ्यमा समेत राम्रो नगर्ने र विदेशबाट ल्याउँदा राजश्व समेत गुम्ने हुँदा झिटी गुन्टा अन्तर्गत रक्सि ल्याउन पाउने छुट दिनु नपर्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ । कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन । अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका छन् ।
यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको विश्वास छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!