कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ

Posted on: 10 Jun, 2018

जेठ २७, काठमाडौँ (रासस) | महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । 

नेविसंघको राँकेजुलुस, दुई विद्यार्थी घाइते 

यसैबीच, नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँको बालेर विरोध प्रदर्शन गरेको छ । 

नेविसंघले सरकारले निरन्तररुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज साँझ बागबजार, जमल र मैतीदेवीबाट राँको बालेर विरोध प्रदर्शन गरेको हो । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । “जबसम्म सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ”, उहाँले भन्नुभयो । 

आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा परेर टीका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । घाइते विद्यार्थीको केएमसी अस्पताल, बागबजारमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । 

मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!