'सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने के थाहा ?'

Posted on: 15 Jun, 2018

असार १, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा जोर्डन पुगेर १३ महिना पछि बस दुर्घटनामा परि मृत्यु भएकी चौदण्डी नगरपालिका ४, उदयपुरकि २२ बर्षीय रविना राईको परिवारलाई सहायता वितरण गरिएको छ । राईको छोरा सहित अन्य परिवारको उपस्थितिमा काठमाडौँको एससीसी म्यानपावरले जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोगमा आएको ६ हजार अमेरिकी डलर भन्दा बढी सहयोग प्रदान गरेको हो । 

यस अघि उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र बिमा बापत २० लाख २८ हजार रकम लिई सकेको छ । यसरी कुल हुन आउने सम्पूर्ण रकम मृतक रविनाको नावालक छोरा उद्योग राईको खातामा फिक्स डिपोजिट गरिएको छ ।


मृतक  रविना राई १५ महिना अघि एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगमा काम गर्न गएकी थिइन् । रोजगारीको शिलशिलामा साथीहरुसँग घुम्न जाने क्रममा उनको बस दुर्घटनामा परेर मृत्यु भएको थियो । 

राईको मृत्यु पछि ७ दिनमा उनको शव नेपाल ल्याईएको थियो । उनको मृत्यु पछी उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र नेपाल सरकारले व्यवस्था गरेको बिमाबाट २० लाख २८ हजार पाईसकेको छ भने शुक्रबार कमलपोखरी स्थित एससीसी म्यानपावर कम्पनीले पत्रकार सम्मेलन गरि जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोग रकम सहित उनको परिवारलाई ६ हजार २५८ अमेरिकी डलर थप सहायता प्रदान गरेको छ । 

माथिको तश्विरमा: जोर्डन स्थित कम्पनीका एचआर मोहम्मद डीन मृतक रविनाकी आमा कल्पना राईलाई सहयोग वापतको  ६,२५८ डलर रकम प्रदान गर्दै । 

माथिको तश्विरमा: जोर्डनमा बस दुर्घटनामा जान गुमाएकी रविना राईको नावालक छोरा उद्योग राई ।

रविना राईको आमा कल्पना राईले छोरीको मृत्यु पछी आएको रकम नाति उद्योग राईको नाममा राख्ने र उद्योगकै भविष्यको लागि बैंकमा जम्मा गरिदिने बताइन । उनले आफ्नो नातितर्फ इशारा गर्दै भनिन् - 'सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने कुनै चेतना छैन । यही छोराको भविष्य बनाउँछु भन्दै जोर्डन गएकी छोरीको मृत्यु भयो, अब यसको भविष्य बन्ने भयो तर छोरी रहिन । आमाको काँख नपाए पनि म्यानपावर, नेपाल सरकार र जोर्डनको कम्पनीले सहयोग गरेको छ, सबै पैसा फिक्स डिपोजिट गरेर राखिदिन्छौं । त्यहि पैसाले पाउने ब्याजले नातिको भविष्य बनाउँछ ।' रविनाको ठूलो दाई अविन कुमारले बहिनीको दुखद मृत्यु भएपनि भान्जाको भविष्य बनाउन र बहिनीको इच्छा पुरा गर्न प्राप्त भएको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगको लागि सबै पहल म्यानपावरले गरेको भन्दै म्यानपावरलाई धन्यवाद दिए । उनले भने 'अरु म्यानपावरले विदेश पठाएपछी कामदारको समस्यामा खासै चासो नदिने बताईरहँदा हामीले यो म्यानपावरकै पहलमा सहयोग पाउन सफल  भयौं । म्यानपावरलाई धेरै धन्यवाद ।' 

माथिको तश्विरमा: पत्रकार सम्मेलनमा: एससीसी म्यानपावरका संचालक अबुल शाह, साथमा जोर्डन स्थित इएम मालिवन टेक्सटायल (गार्मेन्ट)का एचआर प्रमुख मोहम्मद डीन ।

राइको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्न आईपुगेका कम्पनीका ह्युमन रोसोर्स प्रमुख मोहम्मद डीनले राइको कम्पनी मार्फत बिमा रकमको लागि समेत प्रक्रिया जारी रहेको भन्दै उक्त बिमा रकम आएपछी पुन: थप रकम उनको परिवारले पाउने साझा सबाललाई बताएका छन् । 

जोर्डनको कम्पनी, नेपालीहरु र म्यानपावरले रविनाको परिवारलाई सहयोग गर्दै गर्दा रविनाको नाबालक छोरा उद्योग राई पनि पत्रकार सम्मेलनमै उपस्थित थिए । रविनाको मृत्यु पछी प्राप्त भएका सम्पूर्ण रकम उद्योग राईको नाममा बैंक खाता खोली राखिदिने र त्यसैको ब्याजले उद्योगको भविष्य बनाउन खर्च गरिने उनको परिवारले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!