यूएईमा रहेका नेपालीहरुलाई खुसीको खबर

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौं   मध्यपूर्वको प्रमुख रोजगार गन्तव्य यूनाइटेड अरब इमिरेट्सले गैर कानूनी रुपमा आफ्नो मुलुकमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ ।

गैर कानूनी रुपमा बसिरहेका विदेशी नागरिक वा कामदारले तोकिएको समयभित्र स्वदेश फर्किन चाहे निःशुल्क दर्ता गर्ने र वैधानिक भई त्यही बस्न चाहनेहरुबाट निश्चित शुल्क लिएर दर्ता गर्ने नीति सार्वजनिक गरेको छ ।

गल्फ न्यूजका अनुसार यूएईमा सार्वजनिक गरिएको टोल फ्रि नम्बरबाट वैधानिकीकरणको सम्पूर्ण प्रकृया बुझ्न सकिने छ । आममाफीको प्रक्रिया अगामी अगस्ट १ तारेखबाट शुरु हुने छ । त्यस्तै युएईले ‘प्रोटेक्ट योर सेल्फ भीषा रेक्टिफाईड योर स्टाटस’ कार्यक्रम पनि चाँडै ल्याउने बताइएको छ ।

निश्चित शुल्क तिरेर वैधानिक हुने आप्रवासीले यूएईमा काम खोज्न ६ महिनाको समय पाउने छन् । स्वेच्छाले घर फर्किन चाहनेहरुलाई राहदानीमा नो इन्ट्री वा पुनः यूएई प्रवेश निषेधको छाप नलगाउने बताएको छ । यसअघि अवैध बस्नेहरुलाई राहदानीमा नो इन्ट्री छाप लगाउने गरिएको थियो ।

गल्फ टाइम्सका अनुसार घर फर्किन चाहनेहरुलाई ४८ घण्टासम्मको ट्रान्जिट भीषामा कुनै पनि शुल्क लिइने छैन । यस अघि युएईले ५ वर्ष पहिले सन् २०१३ मा पनि यस्तै आममाफीको कार्यक्रम ल्याएको थियो । दुई महिना समय दिइएको त्यस समयमा झण्डै ६२ हजार आप्रवासी उक्त कार्यक्रममा सहभागी भई लाभ लिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!