'बैदेशिक रोजगारीमा पठाउन पर्नु र जान पर्नु नेपालीको वाध्यता हो'

Posted on: 04 Aug, 2018

चन्द्र सिङ अदै | नेपालमा वार्षिक करिव ५ लाखको हाराहारीमा युवा जनशक्तीहरु श्रम बजारमा उत्पादन भईरहेको बिषय नेपाल सरकारलाई अवगत भएकै विषय हो । यी मध्ये अधिकांस युवा जनशक्ती अदक्ष जनशक्तीको रुपमा श्रम बजारमा आउने गर्दछन् । यस्तो भयानक परिस्थीतीमा राज्यले सम्पुर्ण जनशक्तीलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नु पनि चुनौतीको बिषय भएकोले नै बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा सम्लग्न हुनु परेको अवस्था छ ।

नेपालीहरुको वैदेशिक रोजगार रहर नभई बाध्यता बनेको यस्तो परिस्थितीमा नेपाल सरकारले पनि यो या त्यो नाममा वैदेशिक रोजगारीलाई प्रकृयागत रुपमा व्यवस्थीत गर्नुको साटो एक्कासी चौतर्फी आक्रमण गर्दा कतै बिकराल परिस्थीती त आउँदैन ? यो हाम्रो पनि चासोको बिषय हो ।

सबै क्षेत्रमा कुनै न कुनै प्रकारका समस्या नभएका होईनन् । ति बिषयहरुलाई सरल तथा सहज रुपमा समाधान गर्ने सबै भन्दा उपल्लो निकाय भनेको नेपाल सरकार नै हो । यसमा कुनै दुईमत छैन । तर हाम्रो सरोकार भनेको के मात्र हो भने समस्या समाधानको लागि मात्र नभएर उक्त क्षेत्रमा रहेका बिकृती बिसंगतीहरुलाई दीर्घकालिन रुपमा नै समाधान खोजिनुपर्छ भन्ने हो । कुनै पनि क्षेत्रमा सुधारका बिषयहरु उठान गर्दा पक्कै पनि केही हदसम्म समस्याहरु सृजना हुन्छन् नै तर ती बिषयहरुलाई क्रमिक रुपमा सुधार गर्दै जाने हो भने बिस्तारै सकारात्मक परिणाम आउने बिषयमा कुनै दुईमत छैन ।

यहाँ उठान गर्न खोजेको विषय के हो भने, हाल वैदेशिक रोजगार क्षेत्र सुधारको बिषयमा सरकारले चालेको कदम सह्रानीय हुँदाहुँदै पनि कतिपय अवस्थामा तालमेल नहुँदा वैदेशिक रोजगार व्यवसायीहरुले समस्याहरु झेल्नु परिरहेको अवस्था छ । 

वैदेशिक रोजगार व्यवसायी कम्पनीहरु नेपाल सरकार अन्तरगतका निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, वैदेशिक रोजगार बिभाग र यससंग सम्बन्धीत सम्पुर्ण निकायहरुमा पंजिकरण भई संचालकहरुको तिनपुस्ते बिबरण पेश गरि नेपाली नागरिकहरुले नै संचालन गरेको हुँदा अन्य व्यवसाय जस्तै यो व्यवसाय पनि सेवा उद्योग अन्तरगत पर्ने उद्योग हो । वैदेशिक रोजगार व्यवसायीहरुले नेपाल सरकारसंग कहिले पनि बजार प्रबद्र्धनको लागि गुनासो गरेको छैन । जे जसरी हुन्छ आफ्नै व्यक्तिगत लगानीमा बिदेशमा गई अन्तराष्ट्रिय श्रम बजारमा रहेका मागहरु नेपाली माटो सुहाउँदो नेपालीहरुको क्षमता अनुसारको मागहरु ल्याई हालसम्म नेपालीहरुलाई वैदेशिक रोजगारको अवसर प्रदान गरिरहेको बिषयमा नेपाल सरकार जानकार हुनसक्छ । यसो भएको हुँदा बिकृती भएको बाहानामा यस क्षेत्रलाई तहसनहस गर्ने कार्य तर्फ सरकार लाग्नु हुँदैन भन्ने उद्देश्यले यसै पत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ ।

यस क्षेत्रमा पनि केही बिसंगतीहरु छन् । यसो भन्दैमा वैदेशिक रोजगार क्षेत्रको यो राज्यलाई केही योगदान छैन त ? अवस्य यस व्यवसायले पनि देशलाई आर्थिक रुपमा केही न केही योगदान गरेको छ । यस कारण वैदेशिक रोजगार क्षेत्रलाई नकारात्मक दृष्टीले मात्र हेरियो भने त्यो पनि सबै सही सावित नहुन सक्छ ।

वैदेशिक रोजगारको सिलसिलामा जतिपनि संचार माध्यमहरुमा आएका समाचारहरु छन् अहिलेसम्मको ईतिहाँसमा सकारात्मक र सफलताका कथाहरु प्रकाशनमा आएको पाइएको छैन । नेपाल सरकारले दक्ष कामदारले वैदेशिक रोजगारमा सम्लग्न भई सफलता हासिल गरेका बिषयहरु पनि उजागर गर्ने हो भने त्यसले पनि नेपाली समाजमा राम्रै सन्देश जान्छ । 

तसर्थ वैदेशिक रोजगार सुधारको सन्दर्भमा सुरक्षित, व्यवस्थीत, मर्यादित, फाईदा जनक बनाउने बिषयमा सबैको साथ, सहयोग र सहकार्य हुनुपर्छ । वैदेशकि रोजगार क्षेत्रको समस्या समाधानको अचुक औषधी धरौटी बृद्धि, श्रम स्वीकृती बन्द, दुतावास प्रमाणी करण र वैदेशिक रोजगार कम्पनी बन्द गर्ने कार्यलाई मात्र हेरियो भने त्यो पनि अपुर्ण छ । त्यसो भएको हुनाले वैदेशिक रोजगारलाई समस्याको जडमात्र नमानी यसका फईदा बेफाईदाका बिषयमा र यो व्यवसाय बन्द हुँदा यसबाट पर्ने दीर्घकालिन असरको बिषयमा पनि छलफल हुन जरुरी छ । 

वैदेशिक रोजगारका सकारात्मक पाटाहरु

१. नेपालका ६०% घरधुरीका मानिसहरु वैदेशिक रोजगारमा आश्रित छन् । यो भनेको नेपालको कुल जनसंख्याको झन्दै ६०% जनता वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणकै भर परेका छन् । त्यस कारण यति ठुलो संजाल एकै पटक बिग्रंदा त्यसको परिणाम कस्तो होला ?

२. नेपालको हवाई सेवा प्रदायक कम्पनीहरु, नेपाल एयरलाईन्स देखि अन्य निजी कम्पनीहरु सबै वैदेशिक रोजगारमा सम्लग्न हुन बिदेश जाने युवाहरुको कारणले नै संचालक भएको छ । यो व्यवसाय धरासायी हुँदा यसको पनि आर्थिक रुपमा नकारात्मक असर राज्यलाई नै पर्छ ।

३. वैदेशिक रोजगारमा सम्लग्न मानिसहरुको कारणले नै नेपालका निजी ट्राभल कम्पनीहरु संचालनमा रहेका छन् । हैन भने नेपालबाट पर्यटकिय भिषामा बिदेश जाने नेपालीको संख्या कति नै हुन्छ होला र ? 

४. वैदेशिक रोजगारको कारणले नै नेपालमा रहेका तारे होटलहरु संचालनमा रहेका छन् र यससंगै पर्यटकीय भिषामा नेपाल आउने बिदेशीको संख्या पनि बढेको छ । नेपालमा कामदार भर्ना प्रकृयाको लागि बिदेशबाट अन्तरवार्ता गर्न आउँदा बिदेशीहरु परिवार सहित वा सामुहिक रुपमा आउने हुँदा यसमा पर्यटकीय दृष्टीले पनि फाईदा जनक छ । 

५. नेपालमा रहेका लामो वा छोटो दुरीका सवारी साधनहरु नियमित संचालनमा पनि वैदेशिक रोजगारले महत्वपुर्ण भुमिका निर्बाह गरेको छ ।

६. बिदेशबाट रेमिट्यान्स कम्पनी मार्फत स्वदेशमा पैसा पठाउने हुँदा बैंक तथा बित्तिय संस्थाहरु राम्रोसंग संचालन भएका छन् र यसबाट नेपाल सरकारलाई पनि राजश्व प्राप्त भएको छ । 

७. वैदेशिक रोजगारमा सम्लग्न भएका व्यक्तिहरुको छोरा, छोरी वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषण कै कारणले नै गुणस्तरीय शिक्षा पाएका छन् भने बुढा बा आमाले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

८. बिदेशबाट प्राप्त भएको पैसालाई मात्र हाल मुल्याङ्कन गरिएको छ तर त्यो भन्दा बढी स्वदेश फर्केका नेपालीहरुले ज्ञान, सिप, असल आचरण र अन्य धेरै अदृष्य ज्ञान लिएर आएका छन् । त्यसलाई पनि सरकारले व्यवस्थीत गर्नु पर्छ ।

९. वैदेशिक रोजगार क्षेत्रकै कारणले नेपालमा साना होटल तथा रेष्टुरेन्टमा सम्लग्न व्यवसायीहरुको जिबिको पार्जनमा सहजीकरण भएको छ । यो क्षेत्रमा मात्रै करिव २ लाख नेपालीहरु आश्रित छन् ।

१०. त्यसै गरि वैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षण हुँदा यस क्षेत्रमा पनि धेरै स्वास्थ्यकर्मीहरुले स्वदेशमा रोजगारका अवसर पाएका छन् ।

११. अभिमुखिकरण तालिम प्रदायक संस्थामा पनि करिव ३६ हजार भन्दा बढी मानिसहरुले रोजगारी पाएका छन् । 

१२. बिमा कम्पनीहरु तथा सिपमुलक तालिम प्रदायक कम्पनीहरु समेत सिधा वैदशिक रोजगारसंग सम्बन्धीत छन् र यो क्षेत्रमा पनि ठुलो संख्यामा नेपालीहरु रोजगारमा सम्लग्न छन् ।

१३. यसरी हेर्दा वैदेशिक रोजगार कम्पनीमा मात्र करिव ३ लाखको हाराहारीमा नेपाली नागरिकहरु आश्रित रहेका छन् भने यो व्यवसायसंग प्रत्यक्ष वा परोक्ष रुपमा संम्लग्न नेपालीहरुको संख्या भनेको करिव ५ लाखको हाराहारीमा छन् । यसर्थ हाम्रो भनाई के हो भने समस्यालाई क्रमिक रुपमा सुधार गर्नु पर्छ । यो व्यवसायलाई धरासायी भने बनाउनु हुँदैन ।

समस्याहरु 

१. वैदेदशिक रोजगारमा गएका नेपालीहरुले बिदेशमा सिकेका सिपको स्वदेशमा सदुपयोग गर्नुको साटो पुनः वैदेशिक रोजगारमा नै फर्किनु ।

२. ग्रामिण भेगका मानिसहरुको सिधा सम्पर्क वैदेशिक रोजगार कम्पनीसंग नहुँदा बिचौलियाको कारण समस्यामा पर्ने ।

३. ग्रामिण स्तरका बिचौलियाहरुको बढी चलखेलको कारण कामदारहरु आर्थिक मारमा परेका र त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगार कम्पनीलाई पनि पर्ने गरेको ।

४. युवाहरु सबै वैदेशिक रोजगारीमा सम्लग्न भएको कारणले नै उर्वर जमिनहरु पनि बाँझोमा परिणत भएको र स्वदेशमा नै उत्पादन हुने खाद्यान्न पनि अर्को मुलुकबाट आयात गर्नु परेको । 

५. राम्रो सिप तथा बिदेशको हावापानी र बिदेशी नियमहरुको जानकारी नराखी वैदेशिक रोजगारमा जाने कारण मृत्यु जस्तो अप्रिय घट्ना समेत नेपाली कामदारहरुले भोग्नु परेको ।

६. बिप्रेषणको प्रयोग उत्पादन मुलक क्षेत्रमा भन्दा उपभोग्य बस्तु र घर जग्गामा लगानी गर्ने र भौतिक सुख सुबिधामा खर्च गर्ने कारण रोजगारको अवसर नभई अनुत्पादक क्षेत्रमा कमाएका धनहरु संचित भएको ।  

७. सामाजीक रुपमा आफ्ना सन्ततीहरुलाई सही मार्गदर्शन दिन नसकी समाजीक रुपमा बिकराल समस्याहरु आएको ।

८. नेपाली युवाहरु भाषा, सिप, तथा अन्य दक्षताका ज्ञानहरु प्राप्त नगरी नै वैदेशिक रोजगारमा जाने गरेको कारण निजहरुले दुःख झेल्नु परेको । 

९. बिदेशी भुमिमा धेरै कमाई हुने भ्रममा परि नेपालीहरु अवैधानिक बाटो प्रयोग गरि बिदेश जाने गरेको कारण पनि धेरै समस्या आएका छन् ।

१०. नेपालमा उत्पादन भएका जनशक्तीहरु प्रयोगात्मक भन्दा शैद्धान्तिक रुपमा मात्र शिक्षा लिएको कारण निजहरुले वैदशिक रोजगारीमा जाँदा समस्या झेल्नु परेको ।

११. नेपालमा वैदेशिक रोजगारको लागि ईजाजतपत्र नपाएका व्यक्ति वा संस्थाहरु जस्तै: ट्राभल एजेन्सी, कलेजहरु, कन्सल्टेन्सीहरुले पनि वैदेशिक रोजगारको लागी बिदेश पठाउने गरेको कारण समस्या आईरहेको छ ।

१२. उच्च मासिक आमदानीको प्रलोभनमा बिकसित मुलुकरुमा रोजगारीको आशा देखाई अबैधानिक रुपमा बिदेश जाने र पठाउने जस्ता कार्यले पनि यस क्षेत्रलाई बदनाम गरिरहेको छ । 

१३. वैदेशिक रोजगार कम्पनीहरुलाई अत्यधिक मात्रामा धरौटी बृद्धि गर्नु पनि अबैधानिक कार्य गर्न तिर प्रोत्साहन गर्नु  नै हो । त्यस कारण यसलाई पनि न्यायसंगत र तर्कसंगत रुपमा नै बिकास गर्नु पर्छ । 

अव के गर्न सकिन्छ ?

१. वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष संसोधन तथा परिमार्जन नभएको कारणले यस क्षेत्रमा सृजित समस्याहरुलाई अल्पकालिन रुपमा समाधान गर्नको लागि मौजुदा ऐनमा भएका व्यवस्थाहरुलाई नै क्रियाशिल गरि कार्य गर्ने वातावरण बनाउने हो भने सहज हुने ।  

२. वैदेशिक रोजगारमा संलग्न हुने वा अन्य कारणले बिदेश जान चाहने नेपालीहरुलाई राहदानी दिनुभन्दा पहिले नै कम्तीमा ७ दिनसम्म बिभिन्न सचेतना सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गर्ने व्यवस्था नेपाल सरकारले गर्यो भने यसबाट समस्यामा न्यूनिकरण हुन्छ । 

३. वैदेशिक रोजगारमा सम्लग्न नेपालीहरु भाषा तथा सिप नभएको कारणले समस्यामा परेको हुँदा यस बिषयमा नेपाल सरकारले बिद्यालय तथा कजेल स्तरमा नै कम्तीमा अंग्रेजी, हिन्दी, चाईनिज जस्ता महत्वपुर्ण भाषाहरु र प्राबिधिक सिपहरुलाई पाठ्यक्रममा राखी नेपालीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने । जसले गर्दा नेपालीहरुले पनि राम्रो अवसर पाउने छन् ।

४. वैदेशिक रोजगारको लागि ईजाजत लिएका व्यवसायीहरुको वार्षिक प्रगति प्रतिवेदनमा बिभागको बिबरण अनुसार कम्तीमा वार्षिक ५० जना भन्दा कम मानिसलाई वैदेशिक रोजगारमा नपठाएमा उक्त ईजाजतपत्रवालालाई नेपाल सरकारले कारवाहीको प्रकृयामा लानु पर्ने र त्यस्ता संचालकहरुलाई कार्यदक्षता अभिबृद्धिको लागि कम्ती एक हप्ता तालिम दिई व्यवसायीक रुपमा दक्ष बनाउन सरकारले कार्ययोजना बनाई कार्यान्वयन गर्नु पर्छ ।

५. शिक्षाको नाममा नेपालबाट वार्षिक ठुलो धनरासी बिदेश गएको हुँदा नेपाल सरकारले नै स्वदेशमा नै गुणस्तरीय शिक्षाको लागि सबै प्रदेशहरुमा प्राबिधिक बिश्वबिद्यालयको स्थापना गरि स्वदेशमा नेपालीहरुलाई सर्वसुलभ तवरले गुणस्तरीय शिक्षा लिने वातावरण बनाउनु पर्छ । कम्तिमा स्नातक पास गरेपछि मात्र पढाईको लागि बिदेस जान पाउने व्यवस्था मिलाउनुपर्छ । यसो गर्न सकेमा देशबाट शिक्षाका नाममा बाहिरिने अरवौंको रकम रोक्न सकिन्छ ।

६. अत्यधिक धरौटी बृद्धि सबै समस्याको समाधान होईन । यसको लागि कम्पनी दर्ता हुँदा बखतको धरौटी रकमलाई प्रत्येक २ वर्षमा १०% प्रतिशतका हिसावले धरौटी रकम बृद्धि गर्दै लैजाँदा न्यायोचित हुने  । यो बिषयलाई अप्रत्यासित ढंगले बृद्धि गर्दा त्यसको परिणाम सकारात्मक भन्दा नकारात्मक हुने खतरा हुन्छ । 

७. वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई श्रम स्वीकृती प्रदान गर्दा अन्य नियम बिनियमका कुरा भन्दा निजलाई बिदेश स्थीत रोजगारदाता कम्पनीले प्रदान गरेको करारनामा उल्लेख भए बमोजिमको सेवा सुबिधा प्राप्त गर्ने गरि अन्तिम श्रम स्वीकृती प्रदान गर्ने व्यवस्था हुँदा धेरै समस्याको समाधान हुन्छ । यदि निजले स्वदेशमा प्राप्त गरेको करारनामा बमोजिम सेवा सुबिधा नपाएमा नेपालको वैदेशिक रोजगार कम्पनीलाई कारवाही गर्ने कार्य गर्दा अचित हुन्छ । 

. सरकारले डिमाण्ड लेटरमा नेपाली दुतावासको प्रामाणिकरण र दुतावासले माग्ने स्यालरी सिटको कारणले कम्पनीहरुलाई झन्जटिलो हुने हुँदा नेपालमा आउने डिमाण्ड अन्य देशमा जान थालेका छन् ।  यस बिषयमा सरकारले पुनर्विचार गर्नुपर्ने देखिन्छ । सरकारले भिषा र पद नमिलेको कारण श्रम स्वीकृति नदिएको हुँदा यएरपोर्ट सेटिङ वा अन्य देशको विमानस्थल हुँदै चोरी बाटो प्रयोग गरि विदेश जाँदा ठूलो धनराशी विदेश गएको र इलिगल रुपमा विदेश जानेको शंख्या बढेको देखिन्छ । यस्तो अवस्थामा नेपाल सरकारले यस बिषयमा पुनर्विचार गरेर सहज नीति बनाउनु पर्ने देखिन्छ ।  

अन्त्यमा 

यावत बिषयहरु हुँदा हुँदै पनि नेपालीहरुका लागि वैदेशिक रोजगार बाध्यता बनिरहेको छ । तर सिप युक्त नेपालीहरुले भने वैदेशिक रोजगारमा सम्लग्न हुँदा सम्मान जनक रुपमा आर्थिक उपार्जनका साथै सामाजीक सम्मान पनि पाई रहेका छन् । यस कारण स्वदेशमा रोजगारको अवसर नपाए सम्म नेपालीहरुलाई वैदेशिक रोजगारको अवसर प्रदान गरिराख्नु पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!