कोरिया जानेहरुको स्वास्थ्य परिक्षण भदौ ४ देखि, यी ४ अस्पतालमा जाँच गराउन सकिने

Posted on: 06 Aug, 2018

साउन २१, काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । सन् २०१९ को लागि ईपीएस उतिर्ण गर्नेको संख्या ७ हजार ९९६ जना रहेको छ | उनीहरुले आफ्नो स्वास्थ्य परीक्षण राजधानीको ४ वटा अस्पताल (शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल-कोरियामैत्री अस्पताल र पाटन अस्पताल)मा गर्न सक्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।

आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।

गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।

विभागले हालै ईपीएसकै सीबीटी परीक्षाका लागि आवेदन लिएको छ । कोरियामा रोजगारी गरेर फर्किएकाहरुले यो परीक्षा दिन पाउँछन् , कम्प्युटरका माध्यमबाट लिइने यो परीक्षामा सहभागी हुन ३ हजार ३०४ जनाले आवेदन दिएको भण्डारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!