पासपोर्ट सम्बन्धि नयाँ व्यवस्था: बैदेशिक रोजगारीका नाममा होल्ड गरे तीन वर्षसम्म कैद

Posted on: 09 Aug, 2018

साउन २४, काठमाडौं | सरकारले पासपोर्ट (राहदानी) सम्बन्धी नयाँ व्यवस्था सहितको विधेयक संसद सचिवालयमा पेस गरेको छ । 

यो विधेयक पास भएमा विना कारण कुनैपनि व्यक्तिको पासपोर्ट होल्ड गर्ने वा बैदेशिक रोजगारीको नाममा आफ्नो नियन्त्रणमा राख्नेलाई तीन वर्षसम्म कैदको सजाय हुने भएको छ । सरकारले दर्ता गरेको नयाँ विधेयकमा कसैको राहदानी विना कारण नियन्त्रणमा राखे त्यस्तो व्यक्ति वा संस्थालाई दुई लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्मको कैद अथवा दुवै सजाय गर्न सकिने प्राबधान छ ।

नयाँ व्यवस्था स्वीकृत भएमा यस विधेयकको पहिलो निशानामा बैदेशिक रोजगारीमा पठाउने संस्था वा व्यक्तिनै पर्नेछन । वैदेशिक रोजगारीमा पठाउने नाममा ३/४ महिनादेखि पासपोर्ट लिएर झुलाउने, आफ्नो अनुमति बिना विदेश तथा त्यहाँका कम्पनीहरुमा भिषा लगाइदिने र जान नमाने रकम माग्ने वा पासपोर्टनै होल्ड गरिदिने जस्ता कामहरु भएका छन् । नयाँ व्यवस्थाले अव त्यस्ता काम गर्ने संस्था तथा व्यक्तिलाई कारवाही हुनेछ । साथै यदी कसैले लामो समयसम्म आफ्नो पासपोर्ट होल्ड गरेर कुनै पनि बहानामा दु:ख दिएमा वा बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै झुलाउने तर पासपोर्ट नदिएको खण्डमा त्यस्ता विरुद्ध उजुरी गर्न पाइनेछ । 

साथै संसद सचिवालयमा दर्ता भएको विधेयकमा पासपोर्टको वहाल अवधि बाँकी रहेको अवस्था पनि नयाँ पासपोर्ट बनाउन सकिने व्यवस्था ल्याईएको छ । साथै विदेश यात्राका क्रममा पासपोर्टको पानाहरुमा भीषा तथा आगमन र प्रस्थानको छापले भरिएको अवस्था छ भने नयाँ पासपोर्ट जारी गरिने कुरा पनि उल्लेख छ । यसै गरि विधेयकमा पानीजहाजमा काम गर्न जाने नेपालीका लागि सिम्यान्स पासपोर्टको व्यवस्था समेत गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!