वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहयोग गर्न ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना

Posted on: 13 Aug, 2018

साउन २८, काठमाडौँ (रासस) | वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । 

देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी विभिन्न उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी सिर्जना गर्ने योजना छ । यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘रिटर्नी माइग्रेन्ट नेपाल’ का अध्यक्ष उत्तम अधिकारीले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फकिएका नेपालीका सामाजिक हित संरक्षणको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सरकारले चालू आवको बजेटमा ‘वैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा रु १० लाखसम्म ऋण उपलब्ध गराइने’ घोषणा गरेकाले त्यसलाई चाँडो कार्यान्वयन गराउन पहल गर्ने संस्थाले जनाएको छ । 

पुनः विदेश नफर्कने गरी स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरुलाई परियोजनामार्फत क्रियाशील गरेर मुलुकको समृद्धिमा उपयोग गरिने छ । प्रवासी श्रमिकसँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन, ऊर्जा, व्यापारलगायत क्षेत्रमा उनीहरुको पूँजीलाई प्रयोग गरिने छ । 

सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योग सञ्चालनका लागि श्रमिकको लगानीलाई प्रयोग गर्ने वातावरण मिलाउन सरकारलाई संस्थाले आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!