२ महिना भित्रै सामाजिक सुरक्षा कार्यक्रम लागू हुन्छ : श्रममन्त्री विष्ट

Posted on: 14 Aug, 2018

साउन २९, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै नागरिकलाइ सामाजिक सुरक्षाको दायरा भित्र ल्याउने गरि सरकारले तयारी शुरु गरेको बताएका छन् ।  सरकारले अबको २ महिना भित्र सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मन्त्री विष्टले बताए । 

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको नेपालमा सामाजिक सुरक्षा विषयक दुई दिने छलफल कार्यक्रममा श्रम  मन्त्री विष्टले हाल सामाजिक सुरक्षा सम्बन्धि नियमावली तयार पार्ने काम भैरहेकोले सो सकिए लगत्तै कार्यन्वयनमा लैजाने बताए ।

नेपालको सन्दर्भमा केहि जटिल भएपनि सामाजिक सुरक्षा कार्यक्रम ल्याउन र लागु गर्न प्रतिबद्ध छ मन्त्री विष्टले भने ''सबै श्रमिकको मानवोचित जीवन यापनका लागि यो कार्यक्रम महत्वपुर्ण जग हुनेछ । यो कार्यक्रम लागु हुनासाथ लाखौ नागरिकको जीवनमा सिधा अनि सकारात्मक प्रभाव पार्नेछ।" 

तत्काल श्रमिकहरुलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याइने तयारी भएपनि श्रमिक आश्रित परिवारलाई समेत कसरी  सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ भनेर छलफल भैरहेको मन्त्री विष्टले बताए । औपचारिक सँगै ठुलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कार्यक्रमले लाभान्वित पुर्याउने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!