पाँच वर्षअघि मलेसिया गएका एक युवक तीन वर्षदेखि बेपत्ता

Posted on: 22 Aug, 2018

भदौ ६, पाल्पा | मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । 

दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन छन् । लामो समयदेखि सम्पर्क हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताउनुभयो । ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ । 

मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्पर्क हुन नसकेको गुनबहादुरले बताउनुभयो । विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको भनाइ छ । 

उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिनुहुन अनुरोध गरेका छन् । 

स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गर्नुभएको छ । नेपाली युवा विदेशमा गएर परिवारको सम्पर्कमा नआउँदा परिवारमा समस्या हँुदै आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!