मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

Posted on: 19 Sep, 2018

असोज ३, काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । 

उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । 

मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिनुभयो । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ । 

मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिनुभयो । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!