मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो (नामावलीसहित)

Posted on: 19 Sep, 2018

असोज ३, काठमाडौं | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । 

क्वालालाम्पुरस्थित नेपाली दूतावासले केही समयअघि प्रेस विज्ञप्ती जारी गर्दै मृतक र बिरामी परेका नेपालीहरूको नाम सार्वजनिक गरेको हो ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका मृत्यु हुनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डडेल्धुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ रहेका छन् । यस्तै अर्का मृतक आइतसिंह गोलेको भने जिल्ल यकिन हुन सकेको छैन ।

विषाक्त मदिरा सेवनबाट बिरामी भएका १६ जना नेपालीको पनि पहिचान खुलेको र उनीहरूमध्ये चारजना डिस्चार्ज भइसकेको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गर्दा नेपालीहरू बिरामी परेको खबर आएपछि मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अस्पताल पुगेका थिए ।

मृत्यु हुनेको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी रहेको दूतावासले जनाएको छ । विषाक्त मदिराको विषयमा मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मलेसियामा रहेका नेपालीहरूलाई स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत दूतावासले आह्वान गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!