विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न पाउने

Posted on: 19 Sep, 2018

असोज ३,काठमाडौं | नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म पुन: श्रम स्वीकृति लिन पाउने भएका छन् । वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न दिन सरकारले प्रस्ताव गरेको हो ।

वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ । संसदबाट ऐन संशोधन पास भई राजपत्रमा प्रकाशन भएपछि कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । 

सरकारको यो पस्तावले घरेलु कामदारसहित विदेशमा रहेका नेपालीहरुको लागि सहजता हुनेछ। सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ। यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका छैनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् । 

श्रम मन्त्री गोकर्ण विष्टको पहलमा श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले नयाँ व्यवस्था गर्न लागिएको हो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!