कोलम्बो प्रोसेसको उच्चस्तरीय बैठक २९ र ३० गते काठमाडौंमा बस्दै

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मन्चको रुपमा रहेको  कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने तय भएको छ । कात्तिक २९ र ३० गते बस्ने बैठकको लागि आवश्यक तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन्। 

बैठकमा अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श हुनुका साथै वैदेशिक कामदारको हक अधिकारको प्रवर्द्धन, सेवा र सुविधा संरक्षणको विषयमा विभिन्न देशले रिपोर्ट पेश गर्ने कार्यक्रम रहेको श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए । बैठकमा अतिरिक्त नयाँ गन्तब्य बजारको खोजी, विप्रषणको वैधानिक प्रवाहको बढात्तरीलगायतका विषयमा विचार विमर्श हुने सचिव दाहालले बताए । 

२९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्ने कार्यतालिका रहेको छ भने कात्तिक ३० गते सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय परामर्श बैठक बस्नेछ। मन्त्रिस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको छ। प्रतेक २/२ वर्षमा कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक बस्दै आएको छ  । नेपालले २०१७ मार्च २९ देखि यसको अध्यक्षता गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!