मलेसियामा कामदारहरुलाई आगामी जनावरीदेखि थप सुविधा

Posted on: 25 Nov, 2018

मङ्सिर ९, काठमाडौं | मलेसियामा कार्यरत बिदेशी कामदारहरुले आगामी जनावरी पहिलो तारेखदेखि थप सुविधा पाउने भएका छन् । मलेसियामा कार्यरत आप्रवासी कामदारले सोसल सेक्यूरीटी अर्गनाइजेसन(सोस्को) अन्तरगतको सुविधा पाउने भएका हुन् ।

मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले विहीबार विज्ञप्ति जारी गर्दै आइएलओको महासन्धि अनुरुप यस्तो सुविधा दिने जनाएका हुन् । मलेसियाको मन्त्रिपरिषद्को निर्णय अनुसार जनवरी पहिलो तारेखदेखि नै मलेसियाका हरेक रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने कामदारको उपचारको खर्च व्यहोर्नु पर्नेछ । साथै आफ्ना कामदारलाई सोस्को अन्तरगत दर्ता गराउनु पर्नेछ । मलेसियामा सोस्कोले कामदारको उपचार, क्षतिपूर्ति तथा राहत सुविधा दिनेछ । 

मलेसियाको यो नयाँ सुविधासंगै उसले स्वदेशी तथा आप्रवासी दुबै कामदारलाई समान उपचार तथा क्षतिपूर्तिको व्यवाहार लागु गरेको छ । यो अन्तर्राष्ट्रिय प्रावधान पूरा गरेसंगै मलेसियाबाट  दुर्घटनामा परेर मृत्यु भएका कामदारको कामदारको देश फिर्ता गराउँदा वा घाइते अंगभंग वा पुर्नस्थापना भएर फर्काउनु परेमा सोस्कोले प्रतिकामदार ६ हजार ५ सय रिंगिट उपलब्ध गराउने भएको छ ।

यो सुविधा मलेसियामा ओभरस्टे भई बसेका बिदेशी कामदारहरुले भने पाउने छैनन् । मलेसियाको यो नीतिले मलेसियामा अवैधानिक रुपमा बसेका बिदेशी कामदारलाई बैधानिक हुन वाध्य पार्ने बताएको छ । 

मलेसिया नेपालको आकर्षक गन्तव्य मूलुक अन्तर्गत पर्छ । छ महिनादेखि नेपालबाट मलेसिया कामदार पठाउन रोक्का गरिएको अवस्थामा पछिल्लो समय निशुल्क कामदार पठाउन दुई देशको सम्झौता भईसकेको छ । केहि समयमै नेपाली कामदार पनि मलेसिया जान पाउने र दुईदेशबीच केहि महिना अघि भएको सम्झौता बमोजिमनै नेपाली कामदारलाई मलेसिया पठाउने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!