विदेश जानेको संख्या घट्यो, तीन महिनामा साढे २ खर्ब रेमिट्यान्स

Posted on: 25 Nov, 2018

मङ्सिर ९, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रेकर्ड अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको हो । 

अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । मलेसिया जाने स्वीकृति रोकिएको कारण पनि बैदेशिक रोजगारीमा जानेहरुको संख्या उल्लेख्य मात्रामा घटेको हो ।

तर बैदेशिक रोजगारमा जानेको शंख्या घटे पनि रेमिट्यान्स भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३७.३ प्रतिशतले रेमिट्यान्स बढेर २ खर्ब ४२ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्ससँगै खुद ट्रान्सफर आयमा समेत बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन भदौ र असोजमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!