पुस १५ गतेदेखिनै प्रदेश मातहतबाट श्रम स्वीकृतिको सुविधा दिने तयारी

Posted on: 24 Dec, 2018

पुष ९, धनुषा (रासस) | श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । 

मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । 

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् । श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको दाबी गर्नुभयो । प्रवक्ता रेग्मीले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समय सीमा तोकिएको हो र सोही बमोजिम तयारी भइरहेको छ ।” 

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताउनुभयो । उहाँले तोकिएको समयबाट नै सेवा शुरु हुने बताउनुभयो । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तर्खरमा रहेको जनाउनुभयो ।

मन्त्रालयको २०७०/७१ को प्रतिवेदनबमोजिम प्रदेश २ बाट मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकको सङ्ख्या पाँच लाख ८२ हजार २८१ छ । त्यसमध्ये धनुषाबाट मात्रै सबैभन्दा बढी एक लाख ३९ हजार ७१७ जना विदेशिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!