चैतदेखि नेपाली कामदार जापान जान पाउने

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौं | जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताएका छन् । 

नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै चैतदेखि नेपाली कामदार जान पाउने बताएका हुन् । 

जापानले कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपालीसहित चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने बताएको छ । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन । यसको टुङ्गो पनि प्राविधिक टोली आएपछि लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ । 

जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!