गण्डकी प्रदेशबाट पहिलो श्रम स्वीकृति खड्कबहादुर गुरुङलाई

Posted on: 10 Jan, 2019

पुस २६, कास्की | सरकारले आजदेखि गण्डकी प्रदेशबाट पनि पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गरेको छ । यस अघि प्रदेश ५ र प्रदेश २ बाट श्रम स्वीकृतिको काम सुरु भईसकेका छन् । बिहिबार पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट आज श्रम स्वीकृति सेवा सुरु गरिएको हो ।

श्रम स्वीकृति सेवा सुरु गर्न आयोजना गरिएको कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्ट समेत उपस्थित थिए । मन्त्री विष्टले नवलपुरको पिठौलीका ३७ वर्षीय खड्कबहादुर गुरुङलाई मकाउ जानका लागि पुन: श्रम स्वीकृतिसहित राहदानी हस्तान्तरण गरे । पोखराबाट पुन: श्रम स्वीकति पाउने गुरुङ पहिलो व्यक्ति बनेका छन् । पहिलो सेवाग्राही बनेका गुरुङले पोखराबाटै सेवा पाएर खुसि लागेको बताए ।


त्यसैगरी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवी पुनले स्याङजा फेदीखोलाका चन्द्रमान गुरुङलाई राहदानी हस्तान्तरण गरेकी थिइन् । 


पोखरामा सेवा सुरु भएपछी अब त्यहाँ स्थित श्रम कार्यलयमा ८ जना कर्मचारीले सेवा दिने छन् । श्रम तथा रोजगार कार्यालय हाल जिल्ला समन्वय समिति कास्कीको भवनमा राखिएको छ । प्रदेश स्थित श्रम कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्नेछ ।


तश्वीर क्रेडिट: राजु श्रेष्ठ (बैदेशिक रोजगार बिभाग) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!