विरेन्द्रनगरबाट पनि भोलिदेखि पुन: श्रम स्वीकृति सेवा पाइने

Posted on: 19 Jan, 2019

माघ ५, काठमाडौं। सरकारले भोलिदेखि कर्णाली प्रदेशबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा प्रदान गर्ने भएको छ। सुर्खेतको विरेन्द्रनगर कालिन्चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा संचालन गर्न लागिएको हो ।

पुन : श्रम स्वीकृति सेवा शुभारम्भका लागि प्राविधिक तथा ब्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बैदेशिक रोजगार विभागका आइटी इन्जिनियर राजु श्रेष्ठले साझा सवाललाई जानकारी दिए । सेवा आरम्भका लागि कर्मचारीहरुलाई आवश्यक तालिम दिईसकेको उनले जानकारी दिए । 


यस अघि सरकारले  पुस १५ बाट प्रदेश नं २ को जनकपुर, प्रदेश नं ५ को बुटवलबाट र पुस २६ गतेबाट गण्डकी प्रदेशको पोखराबाट पनि पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गरिसकेको छ । बांकी रहेका अन्य प्रदेशबाट पनि छिट्टै पुन: श्रम स्वीकृति सेवा शुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने काम गरिने मन्त्रालयले जनाएको छ।

तश्वीर क्रेडिट: राजु श्रेष्ठ (बैदेशिक रोजगार बिभाग) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!