विरेन्द्रनगरबाट ललित कुमार घर्तिलाई पहिलो श्रम स्वीकृति प्रदान

Posted on: 20 Jan, 2019

माघ ६, विरेन्द्रनगर। सरकारले कर्णाली प्रदेशबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा शुर गरेको छ। सुर्खेतको विरेन्द्रनगर कालिन्चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पहिलो श्रम स्वीकृति ललित कुमार घर्तिलाई प्रदान गरिएको हो।


कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले घर्तिलाई साउदी अरवको लागि रि-इन्ट्री गरिएको पासपोर्ट हस्तान्तरण गरेका हुन् । आफ्नै प्रदेशबाट श्रम स्वीकृति सेवाशुरु भएपछि श्रम कार्यालयमा सेवा लिन आउनेहरुको उत्साहजनक उपस्थिति रहेको बैदेशिक रोजगार विभागका आइटी इन्जिनियर राजु श्रेष्ठले साझा सबाललाई जानकारी दिए ।


यस अघि सरकारले  पुस १५ बाट प्रदेश नं २ को जनकपुर, प्रदेश नं ५ को बुटवलबाट र पुस २६ गतेबाट गण्डकी प्रदेशको पोखराबाट पनि पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गरिसकेको छ । बांकी रहेका अन्य प्रदेशबाट पनि छिट्टै पुन: श्रम स्वीकृति सेवा शुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने काम गरिने मन्त्रालयले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!