सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

Posted on: 25 Jan, 2019

माघ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो ।


यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन तथा आफूलाई परेको समस्या राख्न काठमाडौँ धाउनु नपर्ने भएको छ । 

यस अघिकै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखराबाट र प्रदेश ६ को सुर्खेतबाट यो सेवा उपलब्ध गराइसकेको छ । 


वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन सुदुरपस्चिम प्रदेशबाट पनि यो सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ । हाललाई यो कार्यालयले प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्नेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।


सुदुरपश्चिमबाट पहिलो श्रम स्वीकृति गोर्ख बहादुर खावासालाई 


सुदुरपश्चिमबाट पहिलो श्रम स्वीकृति गोर्ख बहादुर खावासाले प्राप्त गरेका छन् । उनले मलेसियाको INTI KERJAYA SDN. BHD. कम्पनीको लागि Worker पदको लागि व्यक्तिगत श्रमस्वीकृति लिएको मन्त्रालयका इञ्जिनियर राजु श्रेष्ठले साझा सबाललाई जानकारी दिए । पहिलो श्रम स्वीकृति सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले खावासालाई प्रदान गरेपछि प्रदेश श्रम कार्यालयले औपचारिक रुपमा सुदुरपश्चिमबाट श्रम स्वीकृति वितरणको काम सुरु गरेको इञ्जिनियर श्रेष्ठले बताए । 

तश्वीर क्रेडिट: राजु श्रेष्ठ/ बैदेशिक रोजगार बिभाग

यस बिषयमा तपाइको प्रतिक्रिया...!