म्यानपावरका सयौं अवैधानिक दलालहरु ! सचेत नरहे फसिन्छ

Posted on: 16 Feb, 2019

अनिल अधिकारी | फागुन ४, काठमाडौँ | साझा सबाल मिडियाद्वारा संचालित 'बैदेशिक रोजगार' मोबाइल एपमार्फत दैनिक म्यानपावरका अबैधानिक एजेन्टहरुले ठगि गरेको वा चर्को अशुली गर्न लागेको बिषयमा गुनाशोहरु आउने गरेका छन् । 

केहि दिन अघि झापाको बिर्तामोड स्थित एक म्यानपावरका एजेन्टले एक जना बैदेशिक रोजगारीमा जान चाहने युवासँग प्रक्रिया अगावै ५० हजार मागे । ति युवाले आफूले उक्त रकम बिना भरपाई नदिने बताए तर ति एजेन्टले मानेनन् । बरु बैदेशिक रोजगारी मै नपठाउने भन्दै धम्काए । ति युवाले कुनै प्रमाण बिना ५० हजार दिंदा पछी आफू फसेको खण्डमा कसरी उक्त रकम अशुली गर्ने भन्नेमा चिन्ता जाहेर गर्दै साझा सबाल मिडियाको ०१-४४१२९८८ नम्बरमा सम्पर्क गरे र [email protected] मार्फत इमेलमा गुनाशो समेत पोखे । उनले फोनमा भने 'सर, बिना रसिद पैसा माग्छ, दिने कि नदिने भनेर तपाइँहरुसँग सल्लाह लिन फोन गरेको ! सहयोग गर्नुपर्यो ।' उनका अनुसार ति एजेन्टले आईएमई गर्न वा चेक मार्फत भुक्तानी लिन मानेका रहेनछन् । कुनै कागज गर्न पनि मानेनछन् । उनले भने 'कुनै कागज गर्न मानेन, मैले ५० हजार नगद उसको हातमा राखीदिएपछि मात्र बैदेशिक रोजगारीको प्रोसेस अगाडी बढ्छ रे । के गर्ने होला सर ?' 

उनको प्रश्नले हामीलाईनै झस्कायो । बैदेशिक रोजगारीमा यसरीनै ट्रयापमा पारेर ठगि जारी छ । पैसा नदिए विदेश जान नपाइने डर, दिए फस्न सक्ने डर ! यो प्रकृयाले पछिल्लो समय बैदेशिक रोजगारीको लागि मोटो रकम अशुली गर्ने क्रम बढीरहेको छ । सरकारले फ्री भिषा फ्री टिकटको नीति लिएपनि त्यसको कार्यान्वयन ९० प्रतिशत भन्दा बढी म्यानपावर कम्पनीले गरेका छैनन् भन्ने आम गुनाशो छ । त्यसमा पनि एजेन्टहरुको कारण बैदेशिक रोजगारीमा जान लगानी बढीरहेको छ । 

काठमाडौँको म्यानपावरले दुबई सेक्युरिटी गार्डमा पठाउँदा कम्तिमा २ लाख ५० हजारदेखि ४ लाखसम्म उठाउँदा त्यहि कामको लागि एजेन्टले एक जना कामदारबाटै ५० हजारदेखि १ लाखसम्म थप अशुल्ने गरेको पाइएको छ । त्यस्तै अन्य डिमाण्डहरुमा पनि एजेन्टले १० हजारदेखि ५० हजारसम्म अशुल्ने गरेको पाइएको छ । म्यानपावरले कामदारसँग १० हजार मात्र लिन पाउने नीति कायम रहँदा एकै कामदारबाट एजेन्टलेनै १० हजार देखि १ लाखसम्म अशुली गर्दै गरेको थाहा पाउँदा पाउँदै पनि सरकार मौन छ । 

गत शुक्रबार सुर्खेतका दुई युवाले दुबईको क्लिनर कामको लागि आफूहरुसँग एक जना एजेन्टले १ लाख ५० हजार रकम मागेको भन्दै गुनाशो गरे । काठमाडौँको टोखा स्थित चार्टर्ड ग्लोबल भन्ने म्यानपावर कम्पनीमा आएको डिमाण्डमा ति एजेन्टले दुई युवासँग जनही २०/२० हजार अघिनै अशुली सकेका थिए । एजेन्ट आफैले ति युवाहरुलाई सुर्खेतबाट बोलाएर १ साता अघिनै होटलमा राखे । अनि पैसा माग्न थाले ।  ति युवाहरुले अब बाँकी २ लाख ६० हजार बुझाउनुपर्ने थियो । म्यानपावर कम्पनीमै गएर पैसा बुझाउने भन्दै उनीहरुले एजेन्टलाई पैसा दिएनन् । गत हप्ताको शुक्रबार ति एजेन्ट उनीहरुलाई राखिएको होटलमै पैसा मागे । बिना प्रमाण युवाहरुले पैसा दिएनन् र त्यसै दिन साझा सबाल मिडियाका एकजना संचारकर्मीलाई फोन गरे । उनीहरुको गुनाशो मिडिया हुँदै श्रम मन्त्रालय र बैदेशिक रोजगार बिभागसम्म पुग्यो । त्यसैको आधारमा बिभागको टोली शुक्रबारनै छापा मार्न म्यानपावर कम्पनी आईपुग्यो तर त्यसदिन बेलुकाको ६ बजिसकेकोले छापा मार्न सफल हुन सकेन । आइतबार छापा हान्ने योजना सहित मिडिया सहित बिभागको टोली फर्कियो । आइतबार ति एजेन्ट पुन: युवाहरुको होटलमै पैसा लिन पुगे तर युवाहरुले अहिले पैसा नभएको भन्दै म्यानपावरमै दिउसो आएर दिने बताए । पछी करिव १२ बजे ति एजेन्ट म्यानपावरको एउटा कोठामा ढोका थुनेर युवाहरुसँग पैसा लिंदै गरेको अवस्थामा समातिए । 


म्यानपावरहरुको लागि पैसा अशुली गर्न एजेन्टहरु सुरक्षित बाटो बनेका छन् । म्यानपावरमा बोलाएर चर्को रकम अशुली गर्दा समस्या पर्ने देखेर कतिपय म्यानपावर कम्पनीहरुले एजेन्टलाई नै पैसा उठाउने ठेक्का दिने गरेको समेत पाइएको छ । त्यसैकारण पनि पछील्लो समय केहि म्यानपावरहरुले आफ्नो कम्पनीमा आएका डिमाण्डहरुमा कोटा नभएको भन्दै बैदेशिक रोजगारीको लागि सिधै म्यानपावर पुग्ने गरेका कामदारलाई फिर्ता पठाउने तर एजेन्टमार्फत गएका कामदारलाई भने बैदेशिक रोजगारीको प्रक्रियामा लिने गरेको पाइएको छ । 

एउटा म्यानपावरको साखा खोलेर अन्य म्यानपावरसँगको मिलिमतोमा देशभर अबैध एजेन्टहरुले काम गरिरहेको खुलेको छ । एउटा म्यानपावरको साखा कार्यालय भनेर खुलेका म्यानपावरहरुमा अरु म्यानपावरको डिमाण्डमा कामदारसंग डिल हुने गरेको पाईएको छ । 'बैदेशिक रोजगार' एप मार्फत आएका चर्को रकम अशुलीको गुनाशाहरु मध्ये अधिकांश गुनाशा प्रदेश २ र पूर्वी नेपालकै रहने गरेका छन् । त्यसका अलावा अन्य स्थानबाट पनि गुनाशो आउने गरेका छन् । ८५ हजार भन्दा बढीले आफ्नो मोबाइलमा डाउनलोड गरेको यो एपमा आएका गुनाशोलाई अध्ययन गर्दा पछिल्लो समय म्यानपावर भन्दा बढी एजेन्टहरु मार्फत ठगि हुने क्रम बढेर गएको देखिन्छ । 

तीन बर्ष अघिनै वैदेशिक रोजगार व्यवसायी सङ्घले एजेन्ट खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म एजेन्टहरुको सक्रियता कायम छ । देशभरी ऐन विपरीत विदेश जान चाहनेसँग पैसा उठाउने, राहदानी सङ्कलन गर्ने र आफै अन्तर्वार्ता लिने समेत कार्य हुँदा सरकारी अनुगमन छैन । कामदारलाई बिभिन्न डरको जालमा पारेर चर्को अशुली गरिराखेका कतिपय म्यानपावर कम्पनीहरुलाई समेत एजेन्ट खारेजीको बिषय टाउको दुखाईको बिषय बनेको छ । त्यसो त नयाँ ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तरगत एजेन्टलाई राख्न पाउने कानुनी प्रावधान नै हटाउन लागिएको प्रस्ताव गरिएको छ । जुन व्यवस्था संसदमा समेत टेवल भएर केहि दिनमै पास हुने अन्तिम तयारीमा छ । उक्त ऐनसंगै बैदेशिक रोजगारीमा एजेन्टहरु स्वत: आउट हुनेछन् । नयाँ ऐनपछि बैदेशिक रोजगारीमा भएका बेथिति आउट होला/नहोला हेर्न बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!