मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति, न्युनतम लागत नै १ लाख तिर्दै कामदार

Posted on: 09 Apr, 2019

चैत २६, काडमाडौं । श्रम कार्यालय ताहाचालले मलेसिया रोजगारीका लागि कलिङ भिसा आएका कामदारलाई  सोमबारबाट अन्तिम श्रम स्विकृति दिन शुरु गरेको छ । 

कलिङ्ग भिसा आइसकेका र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्र सहित आएका १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका श्रम कार्यालयले ताहाचलका प्रमुख देवेन्द्र कार्कीले साझासबाललाई जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको उपस्थितिमा सोमबार औपचारिक रुपमा २ जना श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिइएको थियो । गत जेठबाट बन्द रहेको मलेसिया रोजगारी कलिङ्ग भिसा आइसकेकाहरुको लागि चैत्र १८ गतेबाट अन्तिम श्रम स्वीकृति खुला गरिएको हो। अन्तिम श्रम स्वीकृति शुरु भएसंगै म्यानपावर कम्पनीले कामदारबाट १ लाख देखि डेढ लाखसम्म मागेको गुनासो आउन थालेका छन् । 

मेरो २ पटक कलिङ्ग भिषा आएर म्याद सकिएको थियो हाल म्यानपावरले भिषा प्रक्रिया शुरु गरेको भन्दै अग्रिम ३० हजार मागेको छ, एक कामदारले सझासबालसँग भने ""म्यानपावरले १०/१२ हजारमा पठाउन सकिंदैन जे गर्छौं  गर भनेको छ ।'' म्यानपावर कम्पनीले प्रति कामदार १ लाख २० हजार मागिरहेको उनले बताए । तर म्यानपावर कम्पनीले बढी लागत लिएको बारे जानकारी आएमा कारवाही गर्ने संघका अध्यक्ष रोहन गुरुङले बताएका छन् । 

भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम समझदारी अनुरुप कामदार पठाउनुपर्ने व्यवस्था छ । श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ। साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!