अष्ट्रेलियाद्वारा अध्यागमन नीतिमा परिवर्तन, पिआर लिन अब के गर्ने ?

Posted on: 17 Apr, 2019

बैशाख ४, अष्ट्रेलिया। अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेको छ । अष्ट्रेलियाले परिवर्तन गरेको नियम अनुसार स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) लिनका लागि लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा फेरबदल गरिएको छ ।

लामो समयदेखि अष्ट्रेलियाले यहाँको स्थायी बासिन्दाको अनुमतिपत्र ‘पीआर’ पाउने प्रक्रियाका लागि अंक प्रणालीलाई अवलम्बन गर्दै आएको छ । नयाँ नीति अष्ट्रेलियामा अदक्ष आवेदकलाई निरुत्साहित गर्ने र दक्षहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको छ । हालै सार्वजनिक गरिएको नयाँ नियममा दक्ष जोडी हुनेहरुले थप अंक पाउने भएका छन् भने एकल आवेदन दिने आवेदकलाई समेत नयाँ नियमले फाइदा पुग्ने भएको छ ।

सार्वजनिक नियम अनुसार दक्ष जोडी हुने आवेदकलाई स्थायी बासिन्दाको अनुमतिका लागि थप १० अंक दिइने भएको छ जुन पहिले ५ अंक थियो । त्यसैगरी दुर्गममा रहेका भनिएका राज्य तथा सरकारले आवेदकलाई स्पोन्सर गरेको खण्डमा यस पहिले रहेको १० अंकलाई बढाएर १५ अंक पुर्‍याइएको छ ।यसका साथै जोडी नभएका एकल आवेदकले स्थायी बासिन्दाको अनुमतिका लागि आवेदन दिंदा १० अंक दिइने छ । यो नियम अष्ट्रेलिया सरकारले परिवर्तित नियममा थप गरेको हो । यसैगरी अंग्रेजी विषयमा दक्ष भएको जोडीलाई थप ५ अंक दिइने छ ।

परामर्शदाता संजीव पाण्डेका अनुसार यहाँको सरकारले माइग्रेसनका लागि तोकिएका पेशामा योग्यता पुग्ने आवेदकले न्युनतम ६५ अंक र अन्य मापदण्डहरु पुर्‍याएको खण्डमा मात्र पीआरको लागि ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (इओआइ) दर्ता गर्न पाउने प्रावधान छ ।तर पछिल्लो समयमा योग्यता पुगेका आवेदकको संख्या उल्लेख्य रुपमा बढेको र अर्कोतिर सरकारले आप्रवासीको संख्या वर्षेनी घटाउँदै गएकाले न्युनतम ६५ अंक भएकालाई आमन्त्रण नदिई त्यो भन्दा धेरै अंक भएकाहरु सरकारको प्राथमिकतामा परिरहेका जनाइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!