आइतबारबाट स्वास्थ्य परीक्षण गर्नका लागि आवेदन दिएका संस्थाहरुको अनुगमन हुँदै

Posted on: 19 Apr, 2019

बैशाख ६, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि सुचिकृत हुन आवेदन दिएका संस्थाहरुको अनुगमन तथा निरीक्षण गर्ने भएको छ । मन्त्रालयले गठन गरेको विशेषज्ञ समितिको टोलीले बैशाख ८ गतेबाट सुचिकृत हुन आवेदन दिएका नयाँ १२६ संस्थाको अनुगमन तथा निरीक्षण गर्न लागिएको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । 

श्रम मन्त्रालयले तोकेको मापदण्ड पुगे/ नपुगेको निरिक्षण गर्नका लागि देशैभर अनुगमनका लागि ४ वटा टोली खटिनेछन् । जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोलीलाई १० दिन र  उपत्यकामा खटिने १ टोलीलाई म्याद १५ दिनको समयसीमा दिइएको श्रम मन्त्रालयले जनाएको छ । हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछ श्रम मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि सीमित संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यसलाई तोड्न अग्रसरता देखाएका थिए । सोहि अनुरुप मापदण्ड पुग्ने सबै संस्थालाई श्रम मन्त्रालयमा सुचिकृत हुन गत चैत्र १३ आह्वान गरिएको थियो । स्वास्थ्य परीक्षणका लागि श्रम मन्त्रालयमा यसअघी २२६ संस्था सुचीकृत भएका थिए भने हाल १२६ संस्था नयाँ थपिएका हुन् । थपिएका संस्थाले मापदण्ड पुरा गरेमा कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!