बैदेशिक रोजगारीका लागि दलाललाई पैसा,सरकारलाई गाली ?

Posted on: 21 Apr, 2019

बैशाख ८,काठमाडौं ।  वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले दलाललाई पैसा बुझाएर  नेपाल र विदेशमा ठगिएपछि सरकारलाई गाली गर्नुको सट्टा युवाहरु सचेत हुनुपर्ने बताएका छन् । विभागको महानिर्देशक भएपछि पहिलो पटक गृह जिल्ला अर्घाखाँची पुगेका महानिर्देशक डा. भूसालले शनिवार स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कारमा रोजगारीमा जानुभन्दा अगाडि सबै कुरा बुझेर विदेश जानुपर्ने बताए । 

 रोजगारीको क्रममा विदेश जांदा म्यानपावर कम्पनीबाट हुने अनियमितता तथा ठगीको सुनुवाई गर्ने मुख्य काम वैदेशिक रोजगार विभागको भएको बताए । तर विदेश जांदा अन्य दलालले  कामदारको रकम खाइदिएपछि त्यसको असुलउपर गरिदिन समस्या पर्ने भन्दै दलालले पैसा खाएपछि वा विदेशमा गएर ठगिएपछि सरकारलाई गाली गर्ने  प्रवृतिको अन्त्य हुनुपर्ने बताए । 

नेपाल सरकारले वेरोजगारलाई रोजगार दिने अभियान सुरु गरेपनि त्यसको विस्तृत पक्ष आम नेपाली युवा युवतीहरुले बुझन नसकेको बताउँदै महानिर्देशक भूसालले भने ‘घरमा एकजनाको पनि रोजगारी नभएको अवस्थामा मात्र  उक्त परिवारका युवा युवतीले बेरोजगारको फाराम भर्न पाउने छन । तर  घरमा रोजगार भएकाहरुले समेत सरकारले बेरोजगार भत्ता दिन्छ भनेर फाराम भर्ने गरेका छन, उनीहरुको बुझाई  गलत छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरुप र प्रक्रियाका वारेका आमजनतालाई भ्रम रहेको बताउँदै महानिर्देशक भूसालले पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत रोजगारीको कुनै पनि  श्रोत नभएकालाई सरकारले लक्षित गरेको बताए । उनले भने, कुनै रोजगार नपाइ बेरोजगार भएको खण्डमा वर्षका ५० दिन अवधिको एक दिनको ५१७ रुपैयाँका दरले भत्ता सरकारले दिन्छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!