किर्ते गरी ४० लाख कर्जा लिने म्यानपावर संचालक पुर्पुक्षका लागि जेल चलान

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाडौं । लिखत सम्बन्धि तथा बैकिङ कसुरमा म्यानपावर संचालक पुर्पुक्षका लागि जेल चलान भएका छन् । सोमबार लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौको आदेशले दुवै जनालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो ।  

करचुक्ता प्रमाण पत्रलाई किर्ते गरी  झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई  कृषि विकास बैंक, स्वयम्भु शाखाबाट ऋण लिने कार्यमा संलग्न झरना ह्युमन रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारी जेल चलान भएका हुन् ।

चितवन पार्वतीपुर-३ घर भई हाल काठमाडौँ, ५ गोंगबु बस्ने बर्ष ३७ को शंकर धिताल र तनहुँ भानु नगरपालिका १२ घर भई हाल टोखा- १० बस्ने बर्ष २२ को अनिल अधिकारीलाई सीआइबीले गत चैत्र १२ गते पक्राउ गरि अनुसन्धान गरेको थियो । उनीहरुले फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिका नाममा आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाणपत्रलाई बैंकबाट ऋण लिनको लागि झरना ह्युम्यान रिसोर्स प्रा.लि.लाई नाफामा देखाउनको लागि किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा झरना ह्युमन रिसोर्स प्रा.लि.को नाममा किर्ते गरि कृषि विकास बैंक, स्वयम्भु शाखाबाट  ४० लाख कर्जा लिएको खुल्न आएको सिआइबीले जनाएको छ । लिखित सम्बन्धी र बैकिङ कसूरमा अनुसन्धान भैरहेकोमा लिखत सम्बन्धी अनुसन्धान पुरा गरि सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाण्डौं जिल्ला अदालतमा अभियोग पेश गरेको थियो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!