आजदेखि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन शुरु

Posted on: 23 Apr, 2019

अशोक घिमिरे | वैशाख १०, काठमाडौँ (रासस) | सरकारले आजदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको अनुगमन शुरु गरेको छ । 

गत कात्तिक १२ गते नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयु) अनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन शुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले विशेषज्ञ चिकित्सकसहितको टोलीले ती स्वास्थ्य संस्थाले तोकेको मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका तीन विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चार वटा टोली अनुगमनमा खटिएको छ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका स्वास्थ्य संस्थाको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ । 

अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण मलेसिया सरकारले पठाएको कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्ने संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ । 

सरकारले गत चैत १८ गते एक सूचना जारी गर्र्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आवेदन माग गरेको थियो । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका १२६ नयाँ स्वास्थ्य संस्थासहित मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि २९० स्वास्थ्य संस्थाले निवेदन दिएका छन् ।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको २२६ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दै आएका थिए । मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन÷निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड नेपाल सरकारलाई पठाइसकेको छ । मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गर्नुपर्नेछ । ती स्वास्थ्य संस्था भौतिक पूर्वाधार सुविधा सम्पन्न हुनुपर्ने र स्वास्थ्य परीक्षण गराउने आवश्यक जनशक्तिको पूर्ण व्यवस्था गर्नुपर्नेछ । स्वास्थ्य संस्थाले रेडियोग्राफी र प्याथोलोजी विभाग छुट्टयाइ आवश्यक उपकरण जडान गर्नुपर्नेछ ।

रेडियोग्राफी विभागमा ३०० एमए/५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी एक्स–रे गर्दा निस्कने विकीरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्धन गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

मापदण्डमा प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित)लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको छ । कामदारको विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदण्डमा तोकिएको छ । 

त्यसैगरी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकसहित प्राविधिकलगायत अन्य कर्मचारी अनिवार्यरुपमा कार्यरत हुनुपर्नेछ । रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, एमडिजिपी÷एमविविएस, मेडिकल ल्याब टेक्नोलोजिष्ट, मेडिकल ल्याब टेक्निकल, रेडियोग्राफर, बायोमेट्रिक अपरेटरलगायत १३ जना कर्मचारी अनिवार्य हुनुपर्नेछ ।

कामदारको सहजताका लागि पर्याप्तमात्रामा खुला स्थान, स्वास्थ्य परीक्षण गरिएका कामदारका कागजपत्रको अभिलेख राख्नुपर्ने, कामदारलाई अलमल नहोस् भनेर सहायता कक्षकोसमेत व्यवस्था गरिएको हुनुपर्नेछ । कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्य परीक्षण गर्ने कोठा, रगतको नमूना सङ्कलनका लागि छुट्टै कोठा, उपयुक्त फर्निचरसहितको प्रशासनिक कक्ष र विद्युत्का कारण स्वास्थ्य परीक्षणमा ढिलाइ नहोस् भन्ने उद्देश्यले जनेरेटर तथा इन्र्भटरको व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

उपयुक्त जनशक्ति तथा पर्याप्त पूर्वाधार भएको स्वास्थ्य संस्थाको छनोटपछि रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले पालना गर्नुपर्ने स्वास्थ्य परीक्षणसम्बन्धी प्रक्रियाको जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!