श्रम तथा रोजगार कार्यालय उचित ठाउँमा सार्न श्रम मन्त्रीको निर्देशन

Posted on: 19 May, 2019

जेठ ५, धनुषा | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।  

उहाँले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो ।

प्रदेश नं २ स्थित प्रधानमन्त्री रोजगार कार्यक्रमबारे सङ्घीय, प्रदेश तथा स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी कार्यक्रमका लागि जनकपुर आउनुभएका मन्त्री विष्टले श्रम कार्यालयको अनुगमन गरी कार्यालयबाट सेवाग्राहीलाई प्रवाह गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन दिर्नेशन दिनुएको हो । उहाँले कार्यालयको अवस्था र सेवाग्राहीलाई दिइने सेवा सुविधाबारे कार्यालय प्रमुख मनोजकुमार यादवसँग जानकारी लिनुभयो । सो क्रममा प्रमुख यादवले कर्मचारीको अभावमा काम गर्न समस्या भएको बताउनुभयो । 

अनुगमनपछि कार्यालयमार्फत सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि आवश्यक भौतिक उपकरण तथा जनशक्तिको समेत व्यवस्थापन गर्न मन्त्री विष्टले निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीलाई कुनै पनि किसिमको समस्या नहुने गरी सहज तरिकाबाट इमान्दारीपूर्वक सेवा उपलब्ध गराउन र कार्यालय सञ्चालनमा कुनै कठिनाइ भए प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभयो । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौँको ताहचलस्थित श्रम कार्यालयबाट मात्र श्रम स्वीकृति लिँदै आएकोमा सरकारले सात वटै प्रदेशमार्फत पुनः श्रम स्विकृति लिन पाउने व्यवस्था गरेको छ । 

श्रम कार्यालय जनकपुरबाट दैनिक पाँच सयभन्दा बढी वैदेशिक रोजगारमा जाने श्रमिकले सेवा लिँदै आएको श्रम कार्यालय जनकपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!