म्यानपावर व्यवसायीको पत्र : 'श्रममन्त्री विष्टले टेरेनन्, निर्देशन दिनुपर्यो प्रधानमन्त्री ज्यू'

Posted on: 24 May, 2019

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको छ ।

वैदेशिक रोजगारका समस्या समाधान गरि मर्यादित, स्वस्थ, सुरक्षित र व्यवस्थित गराउनका लागि मौखिक, लिखित रुपमा नै ध्यानाकर्षण गराउंदा समेत श्रम मन्त्रीले बेवास्ता गरेको भन्दै संघले आफ्ना माग पूरा गराउनका लागि प्रधानमन्त्री गुहारेका छन् ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनुको सट्टा थप अन्यौलग्रस्त, भद्रगोल र असुरक्षित बनाउन थालेको व्यवसायीको आरोप छ । ‘वास्तविक व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आएकाले यस व्यवसायमा रहेको समस्या र व्यवसायीले राखेका मागहरु पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनु हुने अपेक्षाको साथ सम्माननीयज्यू समक्ष यो निवेदनपत्र पेश गरेका छौं’ निवेदनमा भनिएको छ ।

व्यवसायीले जेठ ३ गते वृहत भेलामार्फत निर्णय नै गरेर ६ बुंदे माग सम्बोधन नभए आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरिसकेका छन् । त्यति गर्दा पनि नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् ।

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग संघले राख्दै आएको छ । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!