थाइल्याण्डमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो, १३ करोड बढीको ठगि आरोप

Posted on: 25 May, 2019

जेठ ११, काठमाडौँ | मानव बेचबिखन तथा ओसारपसार एवं करोडौँ ठगीको आरोपमा थाइल्याण्डमा पक्राउ परेका भोजपुर हेलौचा घर भई काठमाडौँ गौरीघाट बस्ने ३८ वर्षीय परशुराम गुरुङलाई नेपाल ल्याइएको छ । 

नेपाल प्रहरीको समन्वय, पीडित, थाइल्याण्डस्थित नेपाली राजदूतावास र थाई प्रहरीको सक्रियतामा गत चैतमा थाइल्याण्ड र लाओसको सिमानामा पक्राउ परेका उनलाई आवश्यक प्रक्रिया पुर्याएर शुक्रबार नेपाल ल्याइएको र कानूनी प्रक्रिया शुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी कमल, पारस, मनोज, किम, अधिराज, प्रताप भन्ने नाममा नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने गरेको खुल्न आएको छ । सामाजिक सञ्जालबाट वैदेशिक रोजगारसम्बन्धी जानकारी पठाएर आफू क्यानाडाको पिआर होल्डर हो भन्दै नेपालीहरुलाई क्यानाडाको पिआर कार्ड बनाइदिने तथा क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा काममा लगाइदिन्छु भनी प्रलोभन दिँदै पैसा ठग्ने गरेको जनाइएको छ ।

विदेश पठाइदिने भन्दै प्रतिव्यक्ति रु पाँच लाखदेखि रु २० लाख सङ्कलन गरी अहिलेसम्म पीडितबाट अन्दाजी रु १३ करोडभन्दा बढी पैसा ठगेको अनुसन्धानबाट खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले पीडितलाई भ्रमण भिसामा थाइल्याण्डको बैंककसम्म पुर्याई कोठामा बन्धक बनाएर शोषण गर्ने र लगेको डलरसमेत जबर्जस्ती लिने गरेको प्रहरीले जनाएको छ । 

पीडितको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०७१ देखि नै मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेकामा हालसम्म ५० भन्दा बढीले परशुराम गुरुङको नाममा मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी परेको छ । उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाद्वारा गुरुङको नाममा विसं २०७२ असारदेखि नै विदेशमा पत्राचार र समन्वय हुँदै आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!