वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन

Posted on: 29 May, 2019

शरद शर्मा, जेठ १५, धादिङ । राससतीन वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्र्किएका थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङले अहिले व्यावसायिक कृषि खेती शुरु गर्नुभएको छ । मलेसियामा रहँदा मुस्किलले रु तीन लाख कमाउन सक्नुभएका उहाँ अहिले आफैँले शुरु गरेको व्यावसायिक कृषिबाट मासिक रु ४० देखि ५० हजार कमाउने गर्नुभएको छ । 

उहाँले अहिले आफ्नै घरमा करीब रु ३० लाखको लगानीमा बाख्रा फार्म, स्थानीय कुखुरा र कागती खेती गरेर व्यावसायिक कृषिमा लाग्नुभएको छ । “वैदेशिक रोजगारीबाट तीन वर्षमा कमाउने पैसा मैले व्यावसायिक कृषि गरेर छ महीनामा कमाउने गरेको छु”, उहाँले भन्नुभयो, “नेपालमा काम गर्दा मनग्य पैसासहित सन्तुष्टि पनि मिलेको छ ।” वैदेशिक रोजगारीमा कमाएको पैसाले मलेसिया जाँदा लागेको रु दुई लाख ऋण तिरेर उहाँले रु एक लाखले भूकम्पपछि भत्किएको घर मात्र बनाउनुभयो । उहाँ विसं २०७१ देखि २०७४ सम्म वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुभएको थियो । 

त्यहाँ दैनिक १२ घण्टा काम गरेर मुस्किलले रु ३० हजार कमाइ हुने आइतले अहिले आफ्नै घरबारीमा व्यावसायिक बाख्रापालन, कुखुरापालन र कागती खेतीले राम्रो आम्दानी गर्नुभएको छ । “विदेशभन्दा आफ्नै देशमा कृषिको सम्भावना देखेर यस क्षेत्रमा लागेको हुँ, वैदेशिक रोजगारमा रहँदा कमाएको पैसा बच्दैनथ्यो”, उहाँले भन्नुभयो, “व्यवसायमा लागेजस्तो सफलता पनि प्राप्त भइरहेको छ ।”

उहाँको कृषि फार्ममा बुबा, भाइ र बहिनीले समेत सघाउने गर्नुहुन्छ । पहिले स्थानीय बाख्रापालन गरेका आइतले अहिले बोयर जातका बाख्रा पाल्नुभएको छ । स्थानीय बाख्रा बढ्न समय लाग्ने भएकाले बोयर जातका बाख्रापालन गरेको उहाँले बताउनुभयो । शुरुमा ३० वटा बाख्रापालन गरेका उहाँका अहिले १०० बाख्रा छन् । बाख्रामा फाइदा भएपछि उहाँले सङ्ख्या बढाउनुभएको हो । ती बाख्रा आठदेखि १० महीनामा ४० किलोसम्म हुने गर्दछन् । 

“घरमा नै स्थानीय मानिस बाख्रा र कुखुरा खोज्न आउने गर्दछन्”, उहाँले भन्नुभया, “भनेको मूल्यमा मानिस ती बाख्रा र कुखुरा लैजाने गर्दछन्, बेच्नका लागि कुनै समस्या नै रहेको छैन ।” यसैगरी उहाँले ५०० कुखुरा पाल्नुभएको छ । घुम्न आउने मानिसले पनि स्थानीय कुखुराको मासु खोज्ने भएकाले कुखुरापालन गरेको उहाँले बताउनरभयो । प्रतिकेजी रु छ समयमा बिक्री हुने कुुखुरा चार महिनामा दुई किलो हुने गर्दछ । 

उहाँले कुखुराको माग बढेकाले थप कुखुरा बढाउने बताउनुभयो । उहाँले गाउँबाट स्थानीय कुखुराका अण्डा सङ्कलन गरेर काठमाडाँैमा ह्याचारीबाट चल्ला उत्पादन गर्नुहुन्छ । आफैँ भेटरिनरी प्राविधिक भएकाले बाख्रा र कुखुरामा लाग्ने विभिन्न रोगको उपचार उहाँ आफै गर्नुहुन्छ । आइतले ३५ दिने भेटरिनरी प्राविधिक तालीम लिनुभएको छ । 

यसैगरी आइतले बाख्रा र कुखुराका लागि आफैँ दाना तयार गर्नुहुन्छ । नपुगेको दानामात्र वजारबाट ल्याउनुहुन्छ । उहाँले गाउँघरबाट मकै, गहुँ, कोदोबाट दाना उत्पादन गर्नुहुन्छ । उहाँले विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै पौरखले स्वदेशमा नै कृषि व्यवसाय गर्दा फाइदा हुने बताउनुभयो । 

यसैगरी घर नजिकै सात रोपनी जग्गामा उहाँले कागतीखेती समेत शुरु गर्नुभएको छ । रामेछापबाट करीब २०० बोटबिरुवा ल्याएर डेढ वर्ष अघिमात्र कागती खेतीको शुरुआत गर्नुभएको हो । कागती तयार हुन अझै दुई वर्ष लाग्ने उहाँले बताउनुभयो । उहाँले एक बिरुवाको रु १५० तिरेर ल्याउनुभएको हो । कागतीखेतीभित्र उहाँले आलु, काउली, बन्दा र केराउको तरकारीखेतीसमेत लगाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!