बैदेशिक रोजगार: फोरम भित्रको विवाद छताछुल्ल, निर्वाचन जित्ने आधारमै धक्का !

Posted on: 24 Jun, 2019

मनोज पराजुली । असार ९, काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आगामी साधारण सभा तथा संघको निर्वाचन असार २७ गते गर्ने निर्णय गरिसकेको छ । जुन दिन आउन अब १९ दिन मात्रै बाँकि छ ।  निर्वाचनको घोषणाले एकातिर संघको चुनावी सरगर्मी बढेको छ भने अर्कोतिर नेतृत्वमा जान चाहने आकांक्षीहरुको भिडले व्यवसायीलाई नै कता तिर लाग्ने भन्ने अन्योलको स्थिति बढेको व्यवसायी नै बताउंदै आएका छन् । 

संघको गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीले बहुमत सिट जितेको अवस्थामा अहिले लोकतान्त्रिक निकट व्यवसायीले जित्ने व्यवसायीले आकलन गरिरहेको अवस्थामा फोरम भित्रका व्यवसायी विचको टकरावको स्थिति नै बाहिर आएको छ। संघको निर्वाचन हुने कि नहुने अन्योलका विच पनि नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमलाई संघको निर्वाचन लागेको प्रष्टै देखिन्छ।   

फोरमले संघ अध्यक्षको उम्मेद्वार कमल तामाङलाई बनाउने निर्णय गत विहिबार गरेको थियो । विहिबार राति अबेरसम्म बसेको फोरमको कार्यसमितिको बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय बहुमतद्वारा भएको फोरमका अध्यक्ष हंशराज वाग्लेले साझा सबाललाई जानकारी दिएका थिए । तर उनले दिएको जानकारी बहुमत नभई अल्पमतमा नै निर्णय भएको व्यवसायीहरुले आरोप लगाएका छन् ।  

फोरम कार्यसमितिमा अध्यक्ष वाग्ले सहित वरिष्ठ उपाध्यक्षमा सुजित श्रेष्ठ, उपाध्यक्षमा किशोर केसी, महासचिवमा तारानाथ अर्याल, सचिवमा पुष्प न्यौपाने, कोषाध्यक्षमा कमल काफ्ले, सह कोषाध्यक्षमा मनसुनकाजी क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरु कृष्ण कुमार जैसी, मेघनाथ भुर्तेल, हेमा गुरुङ, देव कुमार खोखाली, कर्णराज कटुवाल, शिशिर विष्ट, प्रकाश बोहोरा, बाबुलाल मगर (नरेन्द्र) सैलेश कार्की, सञ्जय पनेरु, तुलसी पुरी, सविन गौतम, काशीनाथ कोइराला र अमिर बास्तोला सहित २१ सदस्यीय कार्यसमिति रहेको छ । 

फोरमको बैठक बस्नका लागि २१ सदस्यीय कार्यसमितिको मध्ये आवश्यक कोरम बिना नै बैठक बसेको तथा निर्णय अल्पमतमा रहेको फोरम निकट व्यवसायीको दावी छ।  तामाङलाई संघ अध्यक्षको उम्मेदवार बनाउने विषयमा निर्णय गर्न बसेको बैठकमा १० जनामात्र उपस्थित रहेको बैठकको माइन्युटबाट नै स्फष्ट हुन्छ। अधपी उक्त निर्णयमा हेमा गुरुङको पनि सहमति रहेको लिखित पत्र रहेको दावी गरिए पनि सार्वजनिक गरिएको छैन । 


तर ११ जना नै भएको भन्दै फोरमले हेमा गुरुङ बाहिर भएको भन्दै उनको पनि समर्थन रहेकोले निर्णयमा बहुमत पुगेको दावी गर्दै आएको छ। तामाङलाई संघको अध्यक्षको टिकट दिने निर्णय गर्दा अध्यक्ष वाग्ले सहित कार्यसमित सदस्य देव कुमार खोखाली, काशीनाथ कोइराला, कर्णराज कटुवाल, प्रकाश बोहोरा, बाबुलाल मगर, सञ्जय पनेरु, तुलसी पुरी, सविन गौतम र अमिर बास्तोला गरी १० जनामात्र उपस्थित रहेका व्यवसायीले बताएका छन् । उक्त बैठकमा उपाध्यक्ष लगायतका अन्य पदाधिकारी उपस्थित थिएनन् । 

हतारको निर्णय दवाब थियो कि बाध्यता ?

संघको अध्यक्षको उम्मेद्वार चयन गर्नेबारे फोरम कार्यसमिति भित्र नै मतभेद रहँदै आएको थियो। व्यवसायीभित्र सबल र सक्षम स्वच्छ छबी भएका व्यवसायीलाई संघमा टिकट दिनुपर्ने भन्दै लबिङ्ग हुँदै आएको थियो । फोरमबाट संघको अध्यक्षमा कमल तामाङ सहित फोरमका पूर्व अध्यक्ष विष्णु गैरे र संघका वर्तमान द्वितीय उपाध्यक्ष भुवन गुरुङ आकांक्षी देखिएका थिए। उपाध्यक्ष भुवन गुरुङले अध्यक्षको आकांक्षी भएको भन्दै व्यवासायीका राय लिन बढीमा तीन दिन समय मागेका थिए तर आँफुलाई  व्यवसायीका राय लिने समय नै नदिए एकतर्फी निर्णय लिएको भन्दै उनले आपत्ति जनाएका छन्। गुरुङले व्यवसायीका रायका आधारमा निर्वाचनमा उम्मेद्वारी दिने कि नदिने निर्णय लिने भएकोले आइतबारसम्म पर्खन भनेका थिए।  तर उनले मागेको समय सम्म पाएनन् । राति अबेरसम्म पनि निर्णयमा हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा सदस्यहरु विच नै अन्योलको अवस्था रहेको र अन्तत: हस्ताक्षर गर्न बाध्य भएको श्रोतको दावी छ। 

पार्टीबाट होला त हस्तक्षेप ?

फोरम भित्रको विवाद व्यवसायीहरु बीच छलफल नहुँदै नेपाली कांग्रेस केन्द्रसम्म पुगिसकेको छ। ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन कमल तामाङ र हंशराज वाग्लेले भूमिका खेलेको जानकारी गराएका छन् ।


‘नेपाल लोकतान्त्रिक वैदेशिक राजगार व्यवसायी फोरमले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासीको रुपमा महासमिति सदस्य कमल तामाङलाई उम्मेदवार सिफारिस गरेको छ भन्ने सुनिनमा आएको छ’, पत्रमा भनिएको छ, ‘कमल तामाङ गत ०७४ को संघ र प्रदेशको निर्वाचनमा ओखलढुंगा जिल्ला प्रदेश ‘ख’का स्वतन्त्र उम्मेदवारको बुथ एजेन्ट (प्रतिनिधि) समेत बनि पार्टीको आधिकारिक उम्मेदवार पार्टी सभापति प्रदीपकुमार सुनुवारलाई हराउन ठूलो भूमिका निर्वाह गरेको र निजलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति एवम् संघ र प्रदेश चारै जना उम्मेदवारहरूले समेत कारबाहीको सिफारिस गरी केन्द्रीय अनुशासन समितिमा पठाइएको व्यहोरा जानकारी गराइएको व्यहोरा अनुरोध छ ।’

‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हंसराज वाग्लेले समेत संघ र प्रदेशको निर्वाचनमा असहयोग गरी मतदान समेत गर्न नआएको हुँदा निजहरू दुबै जना कमल तामाङ र हंशराज वाग्लेलाई वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस नगराउनु हुन आदेश अनुसार अनुरोध गर्दछु’, पत्रमा भनिएको छ। 

जिल्ला कार्यालयबाट केन्द्रीय कार्यालयमा पठाइएको पत्रबारे हालसम्म कुनै आधिकारिक निर्णय केन्द्रले गरेको छैन । तामाङ र वाग्लेको विगतको कार्यशैलीलाई लिएर  पार्टीले आवश्यक कारवाही गर्नुपर्ने माग अन्य व्यवसायीहरुले गर्दै आएका छन् । तर ६ जनाले हस्ताक्षरले नै कोरम पुग्ने फोरम अध्यक्ष वाग्लेले दावी गरे। विधानत ५१ प्रतिशतको उपस्थिति कानूनी हुने र त्यसको बहुमतले गरेको निर्णय नै मान्य हुने उनले दावी गरे । 

हेमा गुरुङले बैठक बस्नुपुर्व नै आफ्नो लिखित सहमति दिएकोले बहुमत सदस्यको निर्णय भएको उनले बताए । मेरो निर्णय चित्त नबुझे आवश्यक भए मलाई १४ जनाले राजिनामा दिएर हटाउन सक्छन् वाग्लेले साझा सबालसंग उनले भने 'या त  शेर बहादुर देउवाले सिधै तपाइँ हटेको भनेर लेखेर दिनुपर्छ।'  यी दुई विकल्प बाहेक २ तिहाइ बहुमतको साधारण सभाले हटाएर देखाउन चुनौती दिन्छु, उनले भने' । 

निर्णय नै गैरकानूनी छ : बिमल ढकाल

नेपाली कांग्रेस ओखलढुंगाले प्रमाणसहित कारबाही गर्न सिफारिस गरेको बेला त्यस्तो व्यक्तिलाई अध्यक्षको उम्मेद्वार बनाएको विषय पार्टीले आधिकारिक रुपमा ग्रहण गर्न सक्दैन फोरमका सल्लाहाकार बिमल ढकालले भने 'कमल तामाङलाई अध्यक्षमा उठाउने विषयमा १० जनाले गरेको निर्णय नै गैरकानूनी छ।' नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकोले अब पार्टीले सर्व सम्मत रुपमा चुनाव जित्न सक्ने योग्य व्यक्ति छनौट गर्नुपर्छ, ढकालले भने 'अहिले जुन निर्णय भएको छ त्यो गैरकानूनी छ, यो आँफै बदर भएर जान्छ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!